विराटनगर महानगरद्धारा पर्खाल भत्काउन शुरु

विराटनगर, ३० असोज । विराटनगर महानगरपालिकाले सडक मापदण्डमा परेका पर्खालसहितका भौतिक संरचना हटाउन सुरु गरेको छ ।

सडक मापदण्डमा परेका पर्खाल नहटाउँदा विराटनगरका विभिन्न सडक निर्माणमा अवरोध हुँदै आएको छ । महानगरले शनिबार विराटनगर–३ स्थित कन्यामार्गमा सडक मापदण्डमा परेको पर्खाल हटाएको छ ।

महानगरका मेयर नागेश कोइरालाको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा घरको पर्खाल हटाइएको हो । स्थानीय कृष्ण रेग्मी र लक्ष्मी रेग्मीले पर्खाल भत्काउन नदिँदा लामो समयदेखि कन्यामार्गको नाला निर्माण रोकिएको थियो । महानगरको अगुवाइमा पर्खाल भत्काएपछि स्थानीय खुसी देखिएका छन् । उनीहरुले एकजनाले पर्खाल नभत्काउँदा सबै स्थानीय सास्ती बेहोर्नु परेको उनीहरुको भनाइ छ ।

सडकको मापदण्डको अनुपातमा एउटा घरले पर्खाल भत्काउँदा नदिँदा सडक बन्न नसकेको र महानगरले नेतृत्व गरेर पर्खाल भत्काएकोमा आफूहरु निकै हर्षित भएको स्थानीयवासीले प्रतिक्रिया दिए । त्यसैगरी धरान रोडबाट कन्यामार्ग प्रवेश गर्ने मुखमा पनि भत्काएको छ ।

स्थानीय घमचन्द्र तिम्सिनाले आफ्नो घरतर्फको संरचना भत्काउन नदिँदा नाली बन्न सकेको थिएन । मापदण्डअनुसार सडक निर्माणमा अवरोध भएको स्थानका पर्खाल र संरचना हटाउँदै जाने महानगरको भनाइ छ । महानगरले नक्सा पास नगरेका पर्खालको महानगरबाट स्वीकृत गर्न सूचनासमेत जारी गरिसकेको छ ।