विराटनगर, २८ असोज । विराटनगर ८ मा रहेको आरके सिटी सेन्टरलाई एक महिना भित्र कर बुझाउन विराटनगर महानगरपालिकाले निर्देशन दिएको छ ।
सिटी सेन्टर सञ्चालनमा आएदेखिको कर महानगरमा नबुझाएपछि शुक्रबार विराटनगर ८ को वडाध्यक्षको नेतृत्वमा राजश्व महाशाखा प्रमुख सरोज गौतम सहितको महानगरको टोलीले सिटी सेन्टरका व्यवस्थापक प्रमोद विष्टलाई एक महिना भित्र कर बुझाउन निर्देशन दिएको थियो । वडाध्यक्ष राम पोखरेलका अनुसार सिटी सेन्टरले ४ वर्षको ४० लाख कर बुझाउन बाँकी छ । एक महिना भित्र कर नबुझाएर महानगरले कानुनी प्रकृया शुरु गर्ने पोखरेलले बताउनुभयो । लामो समयदेखिको कर बाँकी रहेकाले महानगरले एक महिनाको समय दिएको उहाँले बताउनुभयो ।
सिटी सेन्टरमा सिनेमाहल पनि सञ्चालनमा रहेकाले मनोरञ्जन लगायतका करहरु पनि थपिने राजश्व महाशाखा प्रमुख गौतमले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ४० लाख गत असार मसान्त सम्मको कर हो ।’ विराटनगर महानगरपालिका क्षेत्र भित्र ठुलो करदाताहरु धेरैले कर बुझाउन बाँकी रहेको गौतमले बताउनुभयो । उहाँका अनुसार महानगरले कर नबुझाउनेहरुको सूची तयार गरिरहेको छ ।
महानगरको टोलीले व्यवसाय दर्ता नगरी सञ्चालनमा रहेका पसल सञ्चालकहरुलाई एक साता भित्रमा वडा कार्यालयमा दर्ता गर्न निर्देशन दिएको छ । विराटनगर ८ को देवकोटा चौक आसपासका पसलहरुको अनुगमनका क्रममा अधिकांश पसलहरु दर्ता नगरी सञ्चालनमा रहेको पाईएको थियो । दर्ता गरेकाहरुले पनि नविकरण नगरेको, घर बहालकर नबुझाएको, कम पुँजी राखेर व्यवसाय सञ्चालन गरेको, एउटाको दर्ता गरेर दुई स्थानमा व्यवसाय सञ्चालन गरिरहेको पाईएको महानगरका राजश्व महाशाखा प्रमुख गौतमले बताउनुभयो ।