विराटनगर, २३ असोज । नेकपा एमाले प्रदेश १ का सचिवालय सदस्य डिल्लीराम अधिकारीले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रदेशसभा निर्वाचनको टिकट वितरणमा असन्तुष्टि जनाउँदै अधिकारीले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको हो ।
अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राजीनामा दिएको बताउनुभएको छ । उहाँले टिकट वितरण पक्षपातपूर्ण, प्रलोभन र गुटगत राजनीतिबाट अघि बढेको भन्दै पार्टीको प्रदेश समिति सचिवालय सदस्यबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
अधिकारीलाई पार्टीले टिकट नदिएपछि सोही वडाका १९ जना वडा सदस्यहरुले समेत पार्टीको संगठनबाट राजिनामा दिएका छन् । मोरङ क्षेत्र नम्बर १ (ख)बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरिएको थियो ।
आसन्न निर्वाचनका लागि उहाँको राम्रो माहौल बनिरहेका समयमा पार्टी नेतृत्वले टिकट वितरणमा पक्षपातपूर्ण व्यवहार गरिएपछि पार्टी कार्यकर्तामा असन्तुष्टि बढेको छ । यसको असर सोही क्षेत्रबाट टिकट पाएका खड्ग बस्नेतलाई प्रत्यक्ष पर्ने स्थानीय एमालेका एक कार्यकर्ताले बताए । उनले भने,‘ एमालेले यस क्षेत्र गुमाउने निश्चित देखियो ।’ बस्नेत स्थानीय स्तरमा अधिकारी जति लोकप्रिय नेता भित्र नपर्ने कार्यकर्ता बताउँछन् ।