बेलबारीमा प्रहरीको नवनिर्मित भवन उद्घाटन

विराटनगर, ११ असोज । मोरङको बेलबारीमा प्रहरीका लागि नयाँ भवन निर्माण गरिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीको भवन २ करोड २९ लाख रूपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले प्रहरीको नवनिर्मित भवनको आज उद्घाटन गर्नु भएको छ । जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको प्रहरी सुरक्षित भयो भने मात्र नागरिक सुरक्षित हुने कार्कीले बताउनु भयो । प्रहरीले प्रयोग गर्ने संरचनालाई सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार तयार रहेको उहाँको भनाइ छ ।

हरेक नागरिकको सुरक्षामा खटिने प्रहरी आफैँमा असुरक्षित रहन नहुने मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताउनु भयो । आफू सुरक्षित भए मात्रै प्रहरीले नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन सक्ने दाहालको भनाइ छ । सरकारले प्रहरीको गाँस, बास र कपासमा विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।

भौतिक सुविधा सम्पन्न संरचनाले २४ घण्टा नै ड्युटीमा खटिने प्रहरीको मनोबल बढाउने प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीले बताउनु भयो । कार्यक्षेत्रमा हौशला प्रदान हुँदा प्रहरीको काम कारबाही चुस्त, दुरुस्त हुने उहाँको भनाइ छ । डीआईजी गिरीले जोश र उर्जाका साथ अहोरात्र नागरिकको सुरक्षामा खटिन प्रहरीलाई निर्देशनसमेत दिनु भएको छ । भवन निर्माणमा २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैयाँ खर्च भएको छ ।

सुविधा सम्पन्न भवन साढे २ तलाको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाका अनुसार भवनमा शौचालयसहितको थुनुवा कक्ष दुईवटा, कार्यालय प्रमुखको कक्ष, मिटिङ हल, भण्डार, सञ्चार, निवास छन् ।

शौचालय र बाथरुम ३ वटा छन् । भवनमा शौचालय र बाथरुमबाहेक १० वटा कोठा रहेको प्रहरी निरीक्षक धमलाले बताउनु भयो ।