विराटनगर, ७ असोज । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले आफ्नो मन्त्रालयले सोचे जति काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले कर्मचारीहरुले आवस्यक सहयोग नगरेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्यलाई अलग गरि छुट्टै मन्त्रालय बनाएपनि अपेक्षित काम हुन नसकेको उहाँको भनाई छ । स्वास्थ्य मन्त्रालयले विनियोजित बजेट खर्च नै गर्न नसकेको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयोे,‘ अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षका वजेट खर्च घटेको छ ।’ स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा तीन दिने प्रदेश स्तरिय स्वास्थ्य कार्यक्रमको समीक्षा गोष्ठिमा आज मन्त्री यादवले सो आक्रोश व्यक्त गर्नुभएको हो । प्रदेश १ लाई पूर्णखोप बनाउन आफुले चाहेपनि आवस्यक सहयोग नपाएको उहाँले बताए ।
मन्त्री यादवले कर्मचारीलाई प्रश्न गर्नुभयोे ‘ पूर्ण खोप कहिले हुन्छ । किन ढिलाई । मंसिर ४ पछि गर्ने हो पूर्ण खोप प्रदेश ।’ आफ्नै कार्यकालमा पूर्णखोपयुक्त प्रदेश बनाउने आफ्नो चाहना पुरा हुन नसकेकोमा उहाँको गुनासो छ । प्रदेश १ स्वास्थ्यका हरेक सूचकमा पछि रहेको उहाँले बताउनुभयो । मन्त्री यादवले भन्नुभयोे,‘अन्य प्रदेशको तुलनामा स्वास्थ्यका सूचकहरुमा हामी पछि छौं । प्रदेश १ भएपनि तत्थ्याङ्कमा हामी अन्तिममा छौं । यो तथ्य हामीले स्वीकार्नु पर्छ ।’ तीन तहको संरचनाका कारण रिपोर्टिङमा पनि समस्या रहेको उहाँले बताउनुभयो ।
पालिका स्तरका स्वास्थ्य संयोजकले स्वास्थ्य कार्यालयका जिल्ला प्रमुखहरुलाई वेवास्ता गर्ने गरिएको उहाँले बताउनुभयो । आफु मातहतको प्रदेश स्वास्थ्य तालिम केन्द्रले वर्षदिन भरिमा एउटा पनि कार्यक्रम गर्न नसकेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयोे,‘ कार्यालयमा जाँदा प्रमुख भेटिदैनन । कर्मचारी हुँदैनन । काम हेर्दा वर्ष दिनभरि केही छैन ।’