विराटनगर, ७ असोज । अपाङ्गता भएका व्यक्तिको प्रादेशिक नीति मस्यौदाबारे आज विराटनगरमा छलफल गरिएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले तयार पारेको मस्यौदाबारे राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ ले सरोकारवालावीच अन्र्तक्रिया कार्यक्रम गरेको हो ।
छलफलमा सहभागिहरुले प्रादेशिक नीतिमा स्थानीय तहहरुमा अपाङ्गता भएका व्यक्तिहरुको नीति बनाउन निर्देशित गर्नुपर्ने, सहायक सामाग्री बैंकको स्थापना हुनुपर्ने, पहुँचयुक्त सूचना संप्रेषण गर्ने किसिमको नीति बनाईनुपर्ने, गुणस्तरिय शिक्षा पाउने संयन्त्र बनाईनुपर्ने, अपाङ्गता परिचयपत्र वितरण गर्दा पहिचान खुल्ने किसिमको हुनुपर्ने लगायतका सुझावहरु सहभागिबाट आएको राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ का व्यवस्थापक सरोज नेपालीले जानकारी दिनुभयो । उहाँले १४ वटै जिल्लाबाट प्रतिनिधित्व गर्दै अन्र्तक्रियामा सहभागिहरुबाट आएका सुझावहरुलाई एकिकृत गरि सामाजिक विकास मन्त्रालयमा बुझाईने बताउनुभयो ।
महासंघ प्रदेश १ अध्यक्ष नविनचन्द्र ढुङ्गेलले सरोकारवाला व्यक्तिहरुबाट प्रादेशिक नीति निर्माणका लागि महत्वपूर्ण सुझावहरु आएको बताउनुभयो ।