विराटनगर, २७ भदौ । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सरकारी गाडी फिर्ता गर्नु भएको छ । प्रदेशसभा सदस्य कोइरालाले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन प्रदेशसभालाई आज फिर्ता गर्नु भएको हो ।
संसदीय दलको नेताको हैसियतमा प्राप्त गरेको को १ झ ६५४ नम्बरको गाडी उहाँले बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ । निर्वाचन नजिकिँदै गइरहेकाले त्यसको तयारीमा लाग्नु परेका कारण सरकारी सम्पत्ति समयमा नै फिर्ता गरेको कोइरालाले जानकारी दिनु भयो । सरकारी गाडी प्रयोग गरेर चुनावको प्रचारप्रसारमा जान नमिल्ने र सरकारी सम्पत्तिको दुरुपयोग नहोस् भनेर फिर्ता गरेको उहाँको भनाइ छ ।
‘समानुपातिक उम्मेदवारको मनोनयन सूची बुझाएसँगै सांसदको कार्यकाल सकिने कुरा आइरहेको छ । सूची बुझाउने समय पनि नजिकिँदै छ,’ उहाँले भन्नु भयो, ‘अरुले के गर्नुहुन्छ भन्ने कुरा थाहा भएन । तर भोलिका दिनमा नैतिकताको प्रश्न आउने भएकाले मैले चैँ समयमै गाडी फिर्ता गरेको हुँ ।’ आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कोइराला सुनसरीको क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाको उम्मेदवार सिफारिस हुनु भएको छ । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका कोइरालासँगै उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्य सीताराम मेहता र केन्द्रीय सदस्य राजीव ढुंगानाको नाम प्रत्यक्षका लागि सिफारिस भएको छ ।
कोइराला २०७४ सालको प्रदेशसभा निर्वाचनमा सुनसरीको क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्य निर्वाचित हुनु भएको हो । १७ हजार ८ सय ९२ मत ल्याएर उनी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रामप्रसाद महतोले १६ हजार ४ सय ७५ मत मात्रै प्राप्त गर्नु भएको थियो ।