विराटनगरको विकासका लागि निफ्रा बैंक लगानी गर्न तयार

विराटनगर २६ भदौ । विराटनगरमा नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र विराटराजाको दरबारको विकासका लागि निफ्रा बैंक लगानी गर्न तयार भएको छ ।

विराटनगरको विकासका विषयमा निफ्रा बैंकका प्रमुख कार्यकारी अधिकृत सहितको टोली र महानगरका प्रमुख नागेश कोइरालावीच भएको छलफलमा निफ्रा बैंक लगानी गर्न तयार भएको हो ।

निफ्राले नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र विराट राजाको दरबारलाई लुम्बिनी मोर्डलमा विकास गर्नका लागि लगानी गर्न तयार रहेको निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले बताउनु भयो ।

महानगरका प्रमुख कोइरालाले बसपार्कका लागि जग्गाको उपलब्धतासहित सबै किसिमको समन्वय र सहयोग गर्ने बताउनु भयो । उहाँले महानगरको आन्तरिक स्रोतले मात्रै विराटनगरको विकास असम्भव रहेकाले आफूले स्वदेशी र विदेशी विकास साझेदार संस्थाबाट बढीभन्दा बढी लगानी भित्र्याउन पहल गरिरहेको जानकारी दिनु भयो ।