विराटनगर २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक सांसदको बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि चुलिएको छ ।
रास्वपा कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले पार्टीले सिफारिस गरेको समानुपातिक सूचीमा भूगोल र समावेशिताको सन्तुलन नमिलेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तामाङले कोशी प्रदेशको विशिष्ट भौगोलिक बनोट र जातीय क्लस्टरलाई पार्टीले नजरअन्दाज गरेको आरोप लगाउनु भएको छ । उहाँले कोशीको सन्दर्भमा पहाडी भूगोलको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने सुझाव आफूले यसअघि नै दिएको भए पनि त्यसलाई बेवास्ता गरिएको उल्लेख गर्नुभयो ।
कार्यवाहक अध्यक्ष तामाङले पार्टी संगठन निर्माणमा अहोरात्र खटिएका, क्षमतावान् र योगदान दिएका व्यक्तिहरूलाई पाखा लगाइएको भन्दै नेतृत्वको आलोचना गर्नुभएको छ । उहाँले ओखलढुङ्गाकी शोभा कार्की, खोटाङकी स्थापित गायिका सत्यकला राई र ताप्लेजुङकी मीरा लाबुङजस्ता योग्य अनुहारहरू सूचीमा नसमेटिएकोमा प्रश्न उठाउनु भएको छ । लामो समयदेखि संगठनमा सक्रिय रहेका व्यक्तिहरूलाई उपेक्षा गर्दा आगामी दिनमा पार्टीको सांगठनिक संरचना र कार्यकर्ताको मनोबलमा गम्भीर असर पर्न सक्ने चेतावनी समेत उनले दिनु भउको छ ।
क्लस्टर नमिल्दा र भूगोल छुटाउँदा पार्टीले समावेशिताको नारालाई व्यवहारमा उतार्न नसकेको उहाँको तर्क छ। गत प्रतिनिधि सभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार रहनु भएकी तामाङ धरानका निवर्तमान प्रमुख हर्क साम्पाङसँग पराजित हुनुभएको थियो ।
०७९ को निर्वाचनमा सोही क्षेत्रबाट जसपाका अशोक राईसँग झिनो मतले पराजित हुनु भएको थियो । रास्वपाका तत्कालीन प्रदेश अध्यक्ष राजेश तिम्सिनामाथि अनुशासनको कारबाही भएपछि उनले कोशी प्रदेशको कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।