सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

विराटनगर २ चैत । मोरङको सुन्दरहरैँचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सफलापूर्वक सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो ।

कार्यक्रमको पहिलो दिन प्ले–ग्रुपदेखि युकेजीसम्मका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न परियोजनाको प्रदर्शन गरिएको थियो । साथै सिङ्गिङ, डान्सिङ, वक्तृत्वकला तथा चित्रकला विधामा ‘स्टुडेन्ट्स आइडल’ प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

दोस्रो दिन कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूको सहभागितामा सांस्कृतिक कार्यक्रम, पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विज्ञान तथा सूचना प्रविधि (आईटी) सम्बन्धी प्रदर्शनी समेत गरेका थिए । यसैगरी सिङ्गिङ, डान्सिङ, वक्तृत्वकला र चित्रकला विधामा विद्यार्थी आइडल प्रतियोगिता सञ्चालन गरिएको थियो।

कार्यक्रमको अन्तिम दिन आज कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए । सो अवसरमा उत्कृष्ट विद्यार्थी तथा ४ जिपिए ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरूले कविता वाचन, नृत्य, गीत, वक्तृत्वकला, चित्रकला तथा विज्ञान र आईटी प्रदर्शनीमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रमका क्रममा विद्यालयका पूर्व विद्यार्थी राकेश श्रेष्ठले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी चार जना विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गरेका थिए । सो पुरस्कार विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेत र राकेश श्रेष्ठका बुबा गोविन्द श्रेष्ठले संयुक्त रूपमा वितरण गरेका थिए ।

कार्यक्रममा अभिभावक, पूर्व विद्यार्थी, शुभेच्छुक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र उपलब्धिहरूलाई नजिकबाट अवलोकन गर्ने अवसर पाएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि संस्कार, अनुशासन र प्रविधिमैत्री शिक्षालाई विद्यालयले प्राथमिकतामा राखेको बताए । उनले विद्यालयले शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गरे ।

विद्यार्थीहरूले गीत, नृत्य तथा विभिन्न सिर्जनात्मक प्रस्तुतिमार्फत दिनभर अभिभावक तथा अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलम ढुंगानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल जेवी थुलुङले गरेका थिए ।