कोशी प्रदेशबाट दुई निवर्तमान सांसद निर्वाचित, ११ जना पराजित

विराटनगर १ चैत । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रमा निवर्तमान १३ जना सांसदहरु प्रतिष्पर्धामा थिए ।

०७९ मा निर्वाचित १२ र उपनिर्वाचन २०८१ मा निर्वाचित एक गरि एक दर्जन बढी निवर्तमानहरुले प्रतिष्पर्धा गरेका थिए । प्रतिष्पर्धामा रहेका उनीहरु मध्ये २ जना मात्रै निर्वाचित भएका छन् । अन्य ११ जना पराजित भए । अन्य १५ जनाले प्रतिष्पर्धा गरेनन् ।

निर्वाचित हुने दुवै जना नेकपा एमालेका उम्मेदवार रहेका छन् । धनकुटाबाट राजेन्द्रकुमार राई र इलाम २ बाट सुहाङ नेम्वाङ निर्वाचित हुनुभयो । धनकुटाबाट राईले ह्याट्रिक पुरा गर्नु भएको छ । यसअघि उहाँ २०७४ र ०७९ मा निर्वाचित हुनु भएको थियो । इलाम २ बाट नेम्वाङ ०८१ को उपनिर्वाचनमा निर्वाचित हुनु भएको थियो । सुवास नेम्वाङको निधन पछि सो क्षेत्रमा एमालेले उहाँका छोरा सुहाङलाई उपनिर्वाचनमा अघि सारेको थियो ।

पराजित हुनेहरुमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, निर्वमान सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राष्ट्रिय उर्जाशिल पार्टीका अध्यक्ष योगेन्द्र मण्डल लगायत रहेका छन् ।

झापा २ बाट निवर्तमान सभामुख घिमिरे, झापा ३ बाट राप्रपा अध्यक्ष लिङ्देन, झापा ४ बाट एलपी साँवा र झापा ५ बाट एमाले अध्यक्ष ओली, मोरङ ३ बाट सुनिल शर्मा, मोरङ ४ बाट अमनलाल मोदी, मोरङ ५ बाट योगेन्द्र मण्डल र मोरङ ६ बाट डा. कोइराला, सुनसरी ३ बाट भगवती चौधरी, सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की र उदयपुर २ अम्वर बहादुर रायमाझी रहनु भएको छ ।

पराजित भएका ११ जना मध्ये ९ जना निकटतम प्रतिद्धन्द्धी भए भने एक जना तेश्रो र एक जना छैठौं स्थानमा पुगे ।

०७९ को निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित मोरङ ५ का योगेन्द्रकुमार मण्डल (पछि राष्ट्रिय उर्जाशिल पार्टी) यस पटक छैठौं मात्रै भएनन् जमानत पनि जोगाउन सकेनन । पराजित हुने ११ जनामा एमालेका ५, कांग्रेसका ३, नेकपा, राप्रपा र राष्ट्रिय उर्जाशिलका एक–एक जना रहेका छन् ।

प्रतिष्पर्धामा नगरेका कोशी प्रदेशका निवर्तमान सांसदहरु योगेश भट्टराई ( ताप्लेजुङ) , बसन्त नेम्वाङ्ग ( पाँचथर) , महेश वस्नेत (इलाम १), विश्वप्रकाश शर्मा ( झापा १), दिपक खड्का (संखुवासभा), सिता गुरुङ (तेर्हथुम), सुदन किराँती ( भोजपुर), डिगबहादुर लिम्वु, (मोरङ–१), ऋषिकेश पोखरेल (मोरङ २), अशोककुमार राई (सुनसरी–१), भीमप्रसाद आचार्य (सुनसरी–२), मानवीर राई (सोलुखुम्वु), रामकुमार राई (खोटाङ), रामहरि खतिवडा (ओखलढुङ्गा), डा. नारायण खड्का (उदयपुर १), रहनु भएको छ ।

कोशी प्रदेशका २८ निर्वाचन क्षेत्रहरु मध्ये १७ क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी, ४–४ क्षेत्रमा एमाले र नेपाली कांग्रेस र ३ क्षेत्रमा श्रम संस्कृति पार्टी निर्वाचित भएका छन् ।