विराटनगर १ चैत । प्रतिनिधिसभाको समानुपातिकतर्फ सिट पाएका ६ वटै राजनीतिक दलले सांसदहरूको नामावली निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले तोकेको तीन दिनको समयसीमाभित्रै दलहरूले बन्दसूचीमा रहेका उम्मेदवारमध्येबाट क्लस्टर मिलाएर आइतबार नामावली पेस गरेका हुन् ।
गएको फागुन २१ गते सम्पन्न निर्वाचनमा ३ प्रतिशतको ‘थ्रेस होल्ड’ कटाएर समानुपातिकमा सिट सुरक्षित गर्ने दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।
प्राप्त नतिजाअनुसार रास्वपाले सबैभन्दा बढी ५७ सिट पाएको छ भने कांग्रेसले २०, एमालेले १६, नेकपाले ९ तथा श्रम संस्कृति र राप्रपाले समान ४–४ सिट पाएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीले सबै दलबाट सूची प्राप्त भइसकेको र अब ती नामहरूको रुजु गर्ने प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । दलहरूले पठाएका नाममा समावेशी क्लस्टर मिले–नमिलेको यकिन गरिने र नमिलेको खण्डमा सच्याउनका लागि पुनः पत्राचार गरिने आयोगले जनाएको छ ।
समानुपातिक सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएलगत्तै आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम प्रतिवेदन बुझाउने तयारी गरेको छ । सबै प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न गरेर नयाँ जनप्रतिनिधिहरूको सूची सार्वजनिक गर्ने पक्षमा आयोग जुटेको सहप्रवक्ता जिसीले बताउनुभयो ।