विराटनगर १४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेपाल प्रहरीले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई कमाण्ड सम्हाल्न खटाएको छ ।
निर्वाचन सुरक्षालाई चुस्त बनाउन प्रहरी प्रधान कार्यालयले विभिन्न विभागमा कार्यरत सात एआईजीलाई प्रदेशगत जिम्मेवारी दिएर कार्यक्षेत्रमा पठाएको हो । जसअनुसार कोशी प्रदेशमा राजन अधिकारी, मधेशमा डम्बर विक, बागमतीमा सिद्धिविक्रम शाह र गण्डकीमा डा. मनोज केसीलाई खटाइएको छ। यस्तै, लुम्बिनीमा उमा प्रसाद चतुर्वेदी, कर्णालीमा सुशील सिंह राठौर र सुदूरपश्चिममा हिमालय कुमार श्रेष्ठले सुरक्षा कमाण्ड सम्हाल्नेछन्। काठमाडौँ उपत्यकाको सुरक्षा कमाण्ड भने एआईजी ईश्वर कार्कीले गर्नेछन । सुरक्षा चुनौतीका आधारमा जिल्लाहरूमा पनि जनशक्ति थप गरिएको छ ।
डीएसपीले कमाण्ड गर्ने पहाडी जिल्लाहरूमा एसपी र एसपीले कमाण्ड गर्ने संवेदनशील जिल्लाहरूमा एसएसपीलाई खटाइएको छ । झापा र इलामको कमाण्ड एसएसपी गोविन्द अधिकारीले गर्नेछन् भने सर्लाही र रौतहटमा एसएसपी सुरेश काफ्लेलाई पठाइएको छ ।
निर्वाचनका लागि उपत्यकाबाट मात्रै १२ हजार ७ सय थप सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार शङ्कास्पद स्थानहरूमा तालिमप्राप्त कुकुरबाट गस्ती गरिनेछ भने साइबर चुनौती सामना गर्न विशेष मनिटरिङ डेस्क स्थापना गरिएको छ ।
निर्वाचनलाई सुरक्षित बनाउन सीमा नाकामा कडा निगरानी राख्ने र सीमा बन्द गर्ने प्रक्रियाका लागि छिमेकी देशका समकक्षीहरूसँग समन्वय भइरहेको छ। गृह मन्त्रालय र जिल्ला सुरक्षा समितिहरूले दैनिक रूपमा सुरक्षा विश्लेषण गरी रणनीति परिमार्जन गरिरहेका छन ।