प्रदेशसभाको अन्तिम बैठकमा दलका नेताले भने – प्रदेशसभाको नाम राख्न सकेनौं

विराटनगर, १७ भदौ । प्रदेश १ सभाको पहिलो कार्यकालको आज अन्तिम वैठक बसेको छ । नामकरण विनै प्रदेशसभाको कार्यकाल सकिएपछि दलका नेताहरुले दलको हैसियत अनुसार जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

नेकपा एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले प्रदेश संरचनाले काम गर्न नसकेको आम रुपमा आलोचना भईरहेको बताउनुभयो । उहाँले केन्द्रले अधिकार तल दिन कन्जुस्याँई गरेको बताउनुभयो । प्रदेशको नामकरण गर्न नसकेकोमा जनतालाई जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयोे,‘ पहिलेको आफूले उठाएका मुद्दामा कुनै पनि दलले अडान लिन सकेनन् ।’ किराँत सभ्यतालाई तोडमोड गर्दा नामकरणका विषयमा विवाद भएको बताउनुभयो । नेपाली काँग्रेस संसदीय दलका नेता राजिव कोईरालाले पहिलो कार्यकाल संरचना निर्माणमा महत्वपूर्ण काम भएको बताउनुभयो । संसदलाई प्रभावकारी बनाउन केही भूमिका भने नपुगेको उहाँले स्वीकार गर्नुभयोे । नामकरणको विषय प्रक्रियामा लानै नसकेकोमा उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो । प्रदेशको नाम राख्न नसकीएकोमा उहाँले संसद मार्फत जनता समक्ष माफि माग्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का सांसद धिरेन्द्र शर्माले नामकरणको विषय जनताको चासो भएपनि गर्न नसक्नु कमजोरी भएको स्वीकार गर्नुभयोे । नामकरणमा सबै दलले जनतालाई धोका दिईएको उहाँको भनाई छ । उहाँले भन्नुभयोे,‘ पहिचानको विषयलाई साम्प्रदायिक हो भनेर प्रचार गरियो ।’ नेकपा (एकीकृत समाजवादी) की सांसद सरिता थापाले पहिलो कार्यकालमा गर्नै पर्ने केही महत्वपूर्ण कामहरु छुटेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ मुख्य काम नामाकरण नै गर्न सकिएन ।’ प्रदेशको नामकरण हुन नसकेको जस अपजस दलहरुको हैसियतअनुसार लिन तयार हुनुपर्ने उहाँको भनाई छ । थापाले दुईतिहाईको सरकार संघदेखि प्रदेशसम्म टिक्न नसक्दा जनताको अपेक्षामा कुठाराघात भएको बताउनुभयो ।

जनता समाजवादी पार्टी संसदीय दलका नेता तथा प्रदेश १ का स्वास्थ मन्त्री जयराम यादवले नामकरण नटुंगिदा जनतामा नकारात्मक सन्देश गएको बताउनुभयो । नामको छिनोफानो हुन नसक्नुमा तत्कालिन नेकपा सरकार बढी दोषी भएको उहाँको जिकिर छ । गठबन्धन सरकारले नामकरणको विषयमा पछिल्लो पटक गरेका जति छलफल÷ बहस अगाडी भएको भए टुंगिन सक्ने सम्भावना थियो । उहाँले ठूला दलले अधिकार दिन र माग्न नसक्दा जनअपेक्षा पूरा गर्न नसकेको भन्दै जनतासँग क्षमा पनि माग्नुभयो ।

राप्रपा संसदीय दलकी नेता ईन्दीरा राईले प्रदेशको नामाकरण हुन नसक्नु दुःखद पक्ष भएको बताउनुभयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद तथा सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले प्रदेश अधिकार सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन शुक्रबार मध्यरातीबाटै सकिदैछ ।