विराटनगर २३ माघ । कोशी प्रदेशमा पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको विद्यालय केन्द्रीत (एचपिभी) खोप अभियान शुरु भएको छ । माघ २२ गते विहीबारदेखि कोशी प्रदेशमा अभियान शुरु भएको हो ।
अभियानमा ५० हजार ८६७ बालिकाहरुलाई खोप दिईने लक्ष्य रहेको छ । प्रदेश खोप समन्वय समितिले (एचपिभी) खोप अभियानबारे आज विराटनगरमा सरोकारवालावीच आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा प्रदेश खोप समन्वय समितिका सदस्यसचिव ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुशार खोप अभियान फागुन ७ गते सम्म सञ्चालन हुने छ ।
उच्च हिमाली भेगमा भने आगामी फागुन अन्तिममा कार्यक्रम सञ्चालन गरिने बताईएको छ । खोप अभियानमा कक्षा ६ मा अध्ययनरत बालिका र विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिकालाई खोप दिईने बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुार गत बर्षको १० देखि १४ वर्ष उमेर समूहका किशोरी लक्षित अभियानमा छुटेकाहरुलाई पनि खोप दिइने छ ।
प्रदेशभर निर्धारण गरिएका ४ हजार ८५४ खोपकेन्द्रहरुबाट खोप सञ्चालन हुने प्रदेश स्वास्थ्य निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार २ हजार २११ सामुदायिक र १ हजार २७३ निजी गरि ३ हजार ५८० विद्यालयहरु र ९६ वटा मदर्शामा खोप केन्द्र सञ्चालन गरिने छ । विद्यालय बाहेक १ हजार २७४ स्वास्थ्य संस्थाहरुमा पनि खोप केन्द्र रहने खोप अधिकृत भण्डारीले बताउनुभयो ।
प्रदेश खोप समन्वय समितिको बैठकमा प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको विद्यालय केन्द्रीत (एचपिभी) खोप अभियान सफल पार्न तीनै तहको सरकारवीच समन्वय आवस्य रहेको बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव तथा खोप समन्वय समितिका अध्यक्ष यदुचन्द्र घिमिरेले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले स्थानीय तहलाई प्रभावकारी रुपमा अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
गत वर्ष सञ्चालन गरिएको (एचपिभी) खोप अभियानमामा कोशी प्रदेशको कभरेज ९४ प्रतिशत रहेको थियो ।
