विराटनगर २२ माघ । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नं. ६ का पूर्वसांसद लालबाबु पण्डितले ५ वर्षमा ५ अर्बको योजना सञ्चालन गरिएको बताउनु भएको छ । भौतिक पूर्वाधारका क्षेत्रमा ५ वर्षमा महत्वपूर्ण काम गरिएको उहाँले बताउनुभयो ।
क्षेत्र नं. ६ बाट २०७४ मा निर्वाचित पण्डितले २ ठुला सडक निर्माण, सामुदायिक भवन, विद्यालय भवन, झोलुङ्गे पुल निर्माण गरिएको उहाँलेबताउनुभयो । उहाँले २६ किलोमिटर गछिया –पुष्पलाल सडक खण्ड ५२ करोडमा र नेमुवा उत्तर कोयलपुर सडक खण्ड र विराटनगर विमानस्थल नजिकको नहर सडक खण्ड २४ किलोमिटर २६ करोडमा निर्माण गरिएको बताउनुभयो ।
विराटनगरमा आज पत्रकारसँगको भेटमा पूर्व मन्त्री समेत रहनु भएका पण्डितले क्षेत्र नं. ६ मा २२ वटा सामुदायिक भवन, १६ वटा विद्यालय भवन र ४ वटा झोलुङ्गे पुल निर्माण गरिएको बताउनुभयो ।
मोरङ ६ को बुढीगंगा र सुन्दरहरैचा क्षेत्रमा झोलुङ्गे पुल निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ २०७४ मा भोट माग्दै जाँदा बुढीगंगा ६ को थारुबस्तीमा वारिपारि गर्न विकट भएका कारण छोरीचेली विवाह गरेर अरुले पनि नलैजाने र विवाह गरेर अरु पनि आउन नचाहने समस्या भएको स्थानीयले सुनाएपछि सो क्षेत्रमा तत्काल समाधानका लागि झोलुङ्गे पुल निर्माण गरियो ।’ अहिले सो क्षेत्रमा सहज आवतजावत भएको छ । ८–१० जनाले पसल सञ्चालन गरेर जिविकोपार्जन गरिरहनु भएको छ ।’
सुन्दरहरैचाको फोकलाङटापुमा भोट माग्दै जाँदा झोलुङ्गे पुल नबनाए भोट माग्न फेरि नआउनु भनेपछि तत्काल सो क्षेत्रमा पनि पुल निर्माणको काम गरिएको उहाँले बताउनुभयो ।
२०७४ देखि २०७९ को निर्वाचन अघि सम्म क्षेत्र नं. ६ मा विकास निर्माणका जति कामहरु भए पछिल्लो तीन वर्षमा थप प्रगती हुन नसकेको भन्दै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो ,‘ निर्वाचित प्रतिनिधिले आफ्नो क्षेत्रको विकास गर्न सक्दैन भने पटक–पटक किन रोज्ने ?’ सो क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद शेखर कोइरालाप्रति लक्षित गर्दै उहाँले भन्नुभयो ,‘ म पछिका सांसदले के गर्नुभयो ? संसदमा क्षेत्रका सवालबारे के बोल्नुभयो प्रश्न गर्नुहोस् ?’