निर्वाचन हुनेमा ढुक्क हुन सबैमा प्रधानमन्त्री कार्कीको आग्रह

विराटनगर २२ माघ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गर्नु भएको छ ।

आज मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गर्नु भएको हो । उहाँले निर्वाचन एकै चरणमा हुने भन्दै निश्चिन्त रहन समेत सबैमा आग्रह गर्नुभयो ।

निर्वाचनको समयमा सबै भूगोलको मौसमसमेत अनुकूल रहने विश्वास व्यक्त गर्दै सबै मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने विश्वास व्यक्त गर्नुभयो । ‘ढुक्क र निश्चिन्त हुनुस् । एकैदिनमा हुन्छ चुनाव । दुई चोटि हुनेवाला छैन । तोकिएकै मितिमा हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘मलाई लाग्छ मौसम पनि राम्रो हुनेछ । हामी सबैले मतदान गर्न पाउनुहुनेछ ।

निर्वाचित प्रतिनिधि सभालाई सरकार हस्तान्तरण गर्छाैँ र आफ्नो घर जान्छौँ ।’ निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयुक्तको भुमिका प्रसंशनीय रहेको भन्दै धन्यावाद समेत व्यक्त गर्नुभयो ।