ज्येष्ठ नागरिकलाई ‘अल्जाइमर्स डिमेन्सीया’ सम्वन्धी सचेतना कार्यक्रम

विराटनगर १९ माघ । नेपाल ग्रामीण विकास समाज केन्द्र (एनआरडीएससी)ले विराटनगरका ज्येष्ठ नागरिकहरुका लागि आज एक दिने स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।

विराटनगर महानगरपालिकासँगको सहकार्यमा एनआरडीएससीले ज्येष्ठ नागरिकहरुका लागि अल्जाइमर्स डिमेन्सीया सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्वुले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो । प्रदेश सरकारले ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई लक्षित गरि आगामी आर्थिक वर्षमा प्राथमिकता दिएर वजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै कोशी अस्पताल विराटनगरकी डा. सविता खड्काले अल्जाइमर्स स्नायुको समस्याका कारण हुने रोग रहेको बताउनुभयो । उहाँले अल्जाइमर्स वंशानुगत तथा टाउकोमा गहिरो चोट भएका व्यक्तिहरुलाई पनि उमेर ढल्कदै गएपछि देखिने स्वास्थ्य समस्या भएको बताउनुभयो । डा. खड्काले समयमै रोग पहिचान गरि उपचार गर्दा सफल हुने पनि बताउनुभयो । उहाँका अनुशार विश्वभर करिव २० देखि ३० लाख व्यक्तिहरुलाई अल्जाइमर्स डिमेन्सीया रोगबाट पीडित रहेको बताउनुभयो ।

एनआरडीएससीका अध्यक्ष मणिकुमार अज्र्यालले अल्जाइमर्स डिमेन्सीया रोग बाट धेरै ज्येष्ठ नागरिकहरु पीडित भएको हुनाले सचेतनामुलक कार्यक्रम आयोजना गरिएको बताउनुभयो । रोगको समयमै उपचार गरे समस्याबाट मुक्त हुन सकिने भएकाले पनि सवैलाई सचेतना आवस्यक रहेको बताउनुभयो । कतिपय व्यक्तिहरु बृद्ध हुँदा यो समस्याबाट पीडित हुने गरेको अध्यक्ष अज्र्यालले बताउनुभयो । एनआरडीएससीले ज्येष्ठ नागरिकको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ ज्येष्ठ नागरिकको निशुल्क स्वास्थ्य जाँच र चिकित्सकको निगरानीमा नियमित रुपमा थेरापी हुँदै आएको छ ।’

एक दिने सचेतनामुलक कार्यक्रममा विराटनगर क्षेत्र भित्रका करिव एक सय ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।