प्रथम कोशी एलाइट कप क्रिकेटमा मोरङ उपाधि नजिक

विराटनगर १५ माघ । विराटनगरमा जारी प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगितामा मोरङ उपाधि नजिक पुगेको छ ।

कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा जारी खेलमा मोरङले आज झापालाई ४ विकेटले पराजित गर्यो । बुधबार उद्घाटन खेलमा मोरङले सुनसरीलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

लगातार दुई खेलमा विजयी भएको मोरङले ४ अंक जोडेको छ । टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा ३३ दशमलव १ बलमा सवै विकेट गुमाई ८४ रनको झिनो योगफल तयार पारेको थियो ।

झापाका सुजन थपलियाले २५ रन बनाउँदा एलिस मण्डलले २३ रनको योगदान दिए । मोरङका प्लेयर अफ म्याच प्रेम कामतले ९ ओभरमा किफायती बलिङ गर्दै १ मेडन राख्दै १६ रन दिएर ५ विकेट लिँदा कप्तान दिपेश कँडेलले २ विकेट, फिर्दोस अन्सारी, श्रवण किस्कु र प्रतिक पोखरेलले १–१ विकेट लिए । ८५ रनको झिनो लक्ष्य पाएको मोरङले ३० दशमलव ५ बलमा ६ विकेट गुमाई सो लक्ष्य भेट्टाएको थियो ।

मोरङका कप्तान दिपेश कँडेलले अविजित ३१ रन जोड्दा पृतिक कामतले अविजित २९ रन बनाए । झापाका विपिनकुमार महतोले ३ विकेट लिँदा आयुस न्यौपाने, सौजनप्रसाद घिमिरे र सुजन थपलियाले १–१ विकेट लिए । प्रतियोगितामा झापा दोस्रो र सुनसरी तेस्रो स्थानमा छ । शुक्रबार झापा र सुनसरीविचको विजेतासँग शनिबार मोरङले फाइनल खेल खेल्ने छ ।