राष्ट्रिय सभा सदस्यमा कोशीबाट एमालेका मेचे र पोर्तेल निर्वाचित

विराटनगर ११ माघ । राष्ट्रिय सभा सदस्यमा कोशी प्रदेशबाट एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित हुनु भएको छ ।

आज भएको निर्वाचनमा महिलाबाट एमालेकी मेचेले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की नमिता न्यौपानेलाई पराजित गर्नु भयो । मेचेले ७ हजार १७३ मत प्राप्त गर्नुभयो । न्यौपानेले २ हजार २६८ मत ल्याउनुभयो ।

दलितबाट नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित हुनु भएको छ । पोर्तेलले नेकपाका खेम सुन्दासलाई पराजित गर्नुभयो । पोर्तेलले ७ हजार ४२३ मत प्राप्त गर्नुभयो । सुन्दासले २हजार२७ मत ल्याउनुभयो ।

कोशी प्रदेशबाट राष्ट्रियसभाका ३ सदस्य पदका लागि निर्वाचन भएको हो । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित हुनु भएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६, जसपा नेपाल र राप्रपाका ४–४ र स्वतन्त्र २ जना रहेका छन् ।

प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपाका १ सांसद मतदाता थिए ।

प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपाका ३, एमालेका २, श्रम संस्कृति पार्टीका एक र भ्रष्टाचार मुद्धाका कारण झापा गाउँपालिकाका अध्यक्ष निलम्वनमा परेका कारण मतदाता सूचीबाट नाम हटाईएको थियो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेले ७ वटै प्रदेशमा गठबन्धन गरेको थियो ।

राष्ट्रिय सभामा आगामी फागुन २० गते कार्यकाल सकिन लागेका १९ जना मध्ये १८ पदका लागि निर्वाचन भएको हो ।

एक जना मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त हुने छन् ।