मोरङ रतुवामाईमा टी–२० क्रिकेट हुने

विराटनगर २८ पुस । मोरङको रतुवामाईमा टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वडा युवा तथा खेलकुद समिति रतुवामाई–४ को आयोजनामा नक आउट प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

खेलकुद समितिका अध्यक्ष कुमार पौडेलका अनुसार प्रतियोगिता माघ ३ गतेबाट १० गतेसम्म सञ्चालन हुनेछ । रतुवामाईको आमबारीमा रहेको गढी महाराजथानको खेल मैदानमा प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहने टिमहरुले पुस ३० गतेभित्र आफ्नो टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । टिम दर्ताका लागि ६ हजार एक सय रुपैयाँ तोकिएको  छ ।

क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार नगद ७५ हजार रुपैयाँ र द्धितीय पुरस्कार नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगितामा विभिन्न जिल्लाबाट १६ टिमले सहभागीता जनाउने अध्यक्ष पौडेलले बताउनुभयो ।