मोरङ २ : एमालेमा तीन आकांक्षी

विराटनगर १९ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. २ बाट एमालेमा तीन नेताहरुले आकांक्षा देखाएका छन् ।

प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सो क्षेत्रका निवर्तमान सांसद तथा केन्द्रीय सदस्य ऋषिकेश पोखरेल, रंगेली नगरपालिकाका प्रमुख तथा केन्द्रीय सदस्य दिलिप बगडिया र क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य दुर्गा विष्टले आकांक्षा देखाएका हुन । विष्ट २०७९ को स्थानीय तहको निर्वाचनमा रतुवामाई नगरपालिकाको प्रमुखमा पराजित भएका थिए ।

उम्मेदवार सिफारिसका लागि शुक्रबार बसेको क्षेत्रीय कमिटी बैठकमा तीन जना नेताहरुले प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि आकांक्षा देखाएको श्रोतले जनाएको छ । श्रोतका अनुशार प्रतिनिधिसभा सदस्यमा आकांक्षा देखाएका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, प्रदेश कमिटी सदस्य डिवी कार्की लगायतका नेताहरुले दावी गरेनन् ।
पुस २० गते क्षेत्रीय कमिटीले उम्मेदवारको नाम सिफारिस गर्ने तयारी गरेको छ ।

यसअघि सो क्षेत्रबाट नेपाली कांग्रेसले डा. मीनेन्द्रप्रसाद रिजाल, शिवनारायण सिंह र नारायणी पण्डितको नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सो क्षेत्रबाट प्रकाश पौडेल, चन्द्रवीर राई, राजेन्द्र मण्डल (अविनाश), पुरुषोत्तम सुवेदी, प्रेमनारायण थापा, जुवा सोरेन, सीतादेवी सरदार र निर्मल भण्डारी (जेनजी) को नाम सिफारिस गरेको छ ।

सो क्षेत्रबाट पहिलो संविधानसभामा एमाले उम्मेदवार गंगा डाँगीलाई पराजित गर्दै नेपाली कांग्रेसका आमोद उपाध्याय निर्वाचित हुनु भएको थियो । दोश्रो संविधानसभा निर्वाचनमा निवर्तमान सांसद पोखरेल निर्वाचित हुनुभयो । २०७४ को निर्वाचनमा पोखरेललाई पराजित गर्दै कांग्रेसका मिनेन्द्र रिजाल निर्वाचित हुनु भएको थियो । २०७९ को प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै पोखरेल निर्वाचित हुनु भएको थियो ।

पोखरेलले ३३ हजार १४८ मत ल्याउनु भएको थियो । कोइरालाले ३१ हजार ९४० मत ल्याउनु भएको थियो । कोइराला कांग्रेस, तत्कालिन नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको संयुक्त गठबन्धनको उम्मेदवार हुनुहुन्थ्यो । रास्वपाका ठगेन्द्रप्रसाद न्यौपानले ४ हजार ९८७ मत ल्याउनु भएको थियो ।