विराटनगरका यादव वकिलबाट पहिलो जिल्ला न्यायाधीश

विराटनगर १७ पुस । विराटनगर–१८, का शिशिरकुमार यादव वकिलबाट पहिलो जिल्ला न्यायाधीश बन्नु भएको छ । खुला प्रतिस्पर्धाबाट कानुन व्यवसायीलाई पनि न्यायाधीशमा प्रवेश गराउने संवैधानिक परिकल्पनाको १० वर्षपछि पहिलो पटक जिल्ला न्यायाधीशमा ३५ वर्षीय यादव सिफारिसमा पर्नुभएको हो । लोक सेवा आयोगले लिएको लिखित परीक्षामा दुई कानुन व्यवसायी उत्तीर्ण भए पनि न्यायाधीशमा एक मात्र उहाँ सिफारिसमा पर्नुभएको हो ।

यादवसँगै ईश्वर परियारले पनि खुला समूहमा परीक्षा उत्तीर्ण गर्नुभएको थियो तर अन्तर्वार्तापछिको एकमुस्ट योग्यताव्रmममा परियार सिफारिस हुन सक्नुभएन । यादवले खुला र मधेशी समूह दुवैमा लिखितमा नाम निकाल्नुभएको थियो ।

दशकपछि वकिलले न्यायाधीशमा प्रवेश पाउँदा यादव सिफारिस क्रमको पहिलो नम्बरमै अटाउनुभएको छ । नवनियुक्त न्यायाधीशको पदस्थापन बाँकी छ । उच्च र सर्वाेच्च अदालतमा भने कानुन व्यवसायी सिधै नियुक्त गर्ने अभ्यास छ ।

नेपालको संविधान जारी भएपछि २०७४ सालदेखि जिल्ला न्यायाधीश खुला प्रतिस्पर्धाबाट समेत पदपूर्ति हुन लागेको हो । संविधान १४९(२) को खण्ड (ग) ले कानुनमा स्नातक उपाधि प्राप्त गरी अधिवक्ताका रूपमा निरन्तर कम्तीमा आठ वर्ष वकालत गरेको व्यक्तिलाई परीक्षामा सहभागी हुन योग्य मानेको छ । सोही प्रावधानमा टेकेर लिखित परीक्षामा कानुन व्यवसायी पनि सहभागी हुँदै आएका छन् तर लिखित परीक्षामा २०८२–०८३ को विज्ञापनमा मात्र दुई जना कानुन व्यवसायी उत्तीर्ण हुनुभएको थियो ।

सन् २०१५ देखि कानुन व्यवसायमा संलग्न यादवले पूर्वाञ्चल विश्वविद्यालय, काठमाडौँ स्कुल अफ ल दधिकोटबाट स्नातक उत्तीर्ण गर्नुभएको हो । उहाँले अमेरिकाबाट कानुनमै स्नातकोत्तर गर्नुभएको छ । विद्यालय तहको शिक्षा यादवले विराटनगरबाटै पूरा गर्नुभएको हो ।

दशकसम्म कुनै पनि कानुन व्यवसायीले लिखित परीक्षा उत्तीर्ण गर्न नसकेको अवस्थामा यादव पहिलो नम्बरमै सिफारिस हुँदा कानुनी वृत्तमा उहाँको चर्चा चुलिएको छ । यादवले मेहनत र निरन्तरता भए अरू कानुन व्यवसायी पनि न्यायाधीशका लागि सक्षम रहेको बताउनुभयो ।