विराटनगरमा जेष्ठ नागरिक भवन उद्घाटन

विराटनगर, ३ भदौ । विराटनगर–११ मा नवनिर्मित ज्येष्ठ नागरिक सामुदायिक भवनको आज एक समारोहका बीच उद्घाटन गरिएको छ ।

नवनिर्मित भवनको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दैै मेयर कोइरालाले ज्येष्ठ नागरिक खुल्ला किताब भएको बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई समाजले अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै उपमेयर कार्कीले विराटनगर ११ का ज्येष्ठ नागरिकलाई समय बिताउन अब सहज हुने बताउनुभयो । उहाँले आगामी दिनमा महानगरले सामुदायिक भवनका लागि थप सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले ज्येष्ठ नागरिक जम्मा भएर समय व्यतित गर्न भवन उपयुक्त हुने विचार राख्नुभयो । ज्येष्ठ नागरिकका बाँकी जीवनलाई कसरी सहज बनाउने भन्ने विषयमा समाजले समेत सोच्नुपर्ने उहाँको भनाइ थियो । सो अवसरमा जग्गा खरिद र भवन निर्माणका लागि १ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने शारदा कार्की थापा, दीनबन्धु गोयल, कमल ढुंगाना, सम्झना नेपाल, भरत कार्की, सरला चापागाईं, श्रीनिवास सारडा, मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र पूर्वमेयर भीम पराजुलीलाई सम्मानसमेत गरिएको थियो । महानगरसहित स्थानीयको सहयोगमा निर्मित भवनमा योग, ध्यान, भजनकीर्तनसहित ज्येष्ठ नागरिकका लागि दिवा सेवा सञ्चालन गरिने ज्येष्ठ नागरिक समाज वडा कार्यसमितिका अध्यक्ष ललित श्रेष्ठले जानकारी दिनुभयो ।

सचिव अर्जुन भट्टराईका अनुसार ज्येष्ठ नागरिक समाजमा ४६८ आजीवन सदस्य रहेका छन् । भवन निर्माणका लागि ३५८ रुपैयाँदेखि ३ लाख १ हजार १ सय ११ रुपैयाँसम्म सहयोग प्राप्त भएको सचिव भट्टराईले जानकारी दिनुभयो ।

कार्यक्रममा सम्मानितहरुका तर्फबाट दिनबन्धु गोयल, आयोजक संस्थाका कोषाध्यक्ष शोभा कोइराला, इन्द्र खतिवडा, विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्याल, ज्येष्ठ नागरिक समाज प्रदेश–१ का अध्यक्ष मणिकुमार अज्र्याललगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।