विराटनगर ११ पुस । विराटनगरस्थित शहीद रंगशालामा शुक्रबार सम्पन्न विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी एभरेष्ट स्कुलले हात पारेको छ । एभरेष्टले ११ स्वर्ण, ९ रजत र ११ कास्य पदक गरि ३१ पदकका साथ उपाधि जितेको हो ।
विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा सम्पन्न भएको प्रतियोगिता ८ स्वर्ण, ११ रजत र ७ कास्य गरि २६ पदकका साथ आदर्श माविले दोेस्रो स्थानमा चित्त बुझायो । त्यस्तै ८ स्वर्ण ७ रजत र ७ कास्य गरि २२ पदकका साथ सत्यनारायण मावि तेस्रो बन्न सफल भयो ।
शुक्रबार भएको छात्र ट्रिपल जम्पमा जनता माविका समिर राजवंशीले स्वर्ण, सत्यनारायणका रोहन शर्मा रजत र आदर्श माविका अमन राजवंशीले कास्य पदक जिते भने ट्रिपल जम्प छात्रातर्फ स्टार माविकी प्रिया मिश्रले स्वर्ण, मिल्स माविकी तरबा खातुनले रजत र आदर्शकी मोहिनी दासले कास्य पदक जितिन् ।
८ सय मिटर दौड छात्रतर्फ सत्यनारायणका नितेश भट्टराईले स्वर्ण, जनता नमुना माविका समिर राजवंशीले रजत र ग्यालेक्सी माविका विवश अधिकारीले कास्य पदक हात पारे । २ सय मिटर छात्रतर्फ महेन्द्र माविका विराट राजवंशीले स्वर्ण, अरनिको माविका अभिषेक यादव रजत र जनता नमुनाका आयुष राजवंशीले कास्य पदक जिते ।
२ सय मिटर दौडको छात्रातर्फ सरस्वती माविकी फूलकुमारी राजवंशीले स्वर्ण , स्टार माविकी प्रिया मिश्रले रजत र आदर्श माविकी एन्जिला भट्टराईले कास्य पदक जितिन् ।
भलिबलमा प्लेयर अफ टुर्नामेन्ट छात्रतर्फ पोखरीका अरिबहादुर परियार र छात्रातर्फ विकेभिएमका सलिस्मा सिंह घोषित हुँदा कवडीतफ छात्रमा महेन्द्रका दिपेश राजवंशी र छात्रातर्फ सत्यनारारयणकी संन्तोषी राँय घोषित भइन्।
पुस ९ देखि सञ्चालन भएको प्रतियोगितामा विराटनगर महानगरपालिकामा अवस्थित ६५ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीले सहभागिता जनाएका थिए । प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्टलगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा भएको थियो ।
विजयी खेलाडी तथा विद्यालयहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, प्रतियोगिताको संयोजन गरेको विद्यालयका प्रिन्सिपल टिकाराम पुरी र महानगरका शिक्षा महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले पुरस्कार तथा ट्रफि वितरण गरे ।