विराटनगर ९ पुस । नेकपा (एमाले) सम्बद्ध मोरङका विभिन्न २२ वटा जनवर्गीय संगठनहरूले वर्तमान सरकारका कदमहरू अलोकतान्त्रिक र असंवैधानिक भएको ठहर गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारीमार्फत बुझाइएको ज्ञापनपत्रमा भदौ २३ र २४ गतेको घटनापछि गठित सरकारले चालिरहेका कदमप्रति गम्भीर आपत्ति जनाइएको नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरेले बताउनुभयो । ज्ञापनपत्र बुझाउन घिमिरे सहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेको थियो । विभिन्न संगठनहरूले संयुक्त रूपमा जारी गरेको ज्ञापनपत्रमा भदौ २३ र २४ गते देशमा भएको विध्वंश, आगजनी र हिंसाको आडमा जननिर्वाचित सरकार अपदस्त गरी असंवैधानिक सरकार गठन गरिएको दाबी गरिएको छ ।
ज्ञापनपत्रमा प्रमुख राजनीतिक दल र तिनका नेताहरूमाथि प्रतिशोध साध्ने उद्देश्यले स्थान हद तोक्ने, पासपोर्ट रोक्का गर्ने र छानबिन आयोगका नाममा झुटा लान्छना लगाउने कार्य भइरहेको आरोप लगाइएको छ । यस्ता व्यवहारले मुलुकलाई थप द्वन्द्व र मुठभेडतर्फ धकेल्ने भन्दै नेताहरूमाथिको प्रतिशोधपूर्ण व्यवहार नरोकिए कडा प्रतिवादमा उत्रने चेतावनी समेत दिइएको छ । यसैगरी, जेन्जी आन्दोलनको आवरणमा भएको तोडफोड र आगजनीमा संलग्नहरू विरुद्ध मंसिर १९ गते जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिएको जाहेरीमाथि हालसम्म कुनै कारबाही नभएकोमा ती संगठनहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् ।
दोषीलाई अविलम्ब कानुनी दायरामा ल्याउन माग गर्दै सामाजिक सद्भाव खलल र्पुयाउने गतिविधिहरूलाई निरुत्साहित गर्न र राष्ट्रिय एकता कायम गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापनपत्र बुझाउने संगठनहरूमा नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ नेपाल, नेपाल राष्ट्रिय जनसांस्कृतिक महासंघ, पेशागत महासंघ नेपाल , नेपाल बुद्धिजीवी परिषद लगायत २२ वटा जनवर्गिय संगठन छन् ।