विराटनगर ९ पुस । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन प्रतियोगितामा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरूले प्रदर्शन गरेको मार्चपासमा आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ ।
मार्च पासमा पूर्वाञ्चल विद्या सदन माध्यमिक विद्यालय दोश्रो र पोखरिया माध्यमिक विद्यालय तेश्रो भयो । पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्न सफल विद्यालयले प्रमाणपत्र सहित क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद प्राप्त गरेका थिए । पुस ११ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विराटनगर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत गरि ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता रहने छ ।
प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका खेलहरू विराटनगरस्थित शहीद रङ्गशाला, रङ्गशालाको कभर्डहल र फ्युजन तेक्वान्दो तालिम केन्द्रमा हुनेछन । प्रतियोगिता उद्घाटन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख एवम् प्रतियोगिता निर्देशन समितिका संयोजक नागेश कोइरालाले रनिङ शिल्डमा महानगर भित्रका सामुदायिक र संस्थागत विद्यालयको आकर्षण बढ्नु खेलकुद क्षेत्रका लागि सुखद भएको बताउनु भयो। उहाँले रनिङ शिल्ड जस्ता प्रतियोगिताले खेलाडी उत्पादनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै खेलकुदले विद्यार्थीहरूमा अनुशासन र प्रतिस्पर्धाप्रति सकारात्मक धारणा विकसित गर्नेमा आशावादी रहेको धारणा व्यक्त गर्नु भएको थियो ।
प्रतियोगिताको संयोजन गरेको एभरेष्ट माविका प्राचार्य टिकाराम पुरीले राष्ट्रपति रनिङ शिल्ड विद्यार्थीहरूले प्रतिभा प्रदर्शन गर्ने थलोको रुपमा विकसित भएको बताउनु भएको थियो ।