मानव बेचबिखन तथा लैङ्गिक हिंसा प्रभावितहरुसँगको अनुसन्धान पीडितमैत्री बनाउन जोड

विराटनगर ५ पुस । मानव बेचबिखन तथा लैङ्गिक हिंसाबाट प्रभावित व्यक्तिहरूसँग गरिने अन्तरवार्तालाई संवेदनशील, सम्मानजनक र अधिकारमा आधारित बनाउन सरोकारवालाहरुले जोड दिएका छन् ।

अन्तरवार्ताका क्रममा पीडितलाई पुनः मानसिक पीडा नदिने गरि व्यवहार प्रवद्र्धन गर्नुपर्ने उनीहरुको भनाई छ । मानव बेचबिखन तथा लैङ्गिक हिंसा अन्त्य गर्ने अभियान अन्तरगत आफन्त नेपाल विराटनगरले विहीबार विराटनगरमा आयोजना गरेको पीडित केन्द्रीत अन्तरवार्ता मोडल, अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले मोरङ प्रहरीले पीडित सहायता कार्यविधि तयार गरेकाले सोही अनुशार पीडित केन्द्रीत अन्तरवार्ता हुने गरेको बताउनुभयो । पीडितसँग प्रश्नोत्तर कसरी गर्ने भनि कार्यविधिमै व्यवस्था रहेको उहाँले बताउनुभयो । पीडितसँग अन्तरवार्ता गर्दा झन पीडा दिनेगरि गर्न नहुने उहाँले बताउनुभयो ।

गैसस महासंघ मोरङका अध्यक्ष विष्णु शर्माले प्रहरी, स्वास्थ्यकर्मी, कानुनी व्यवसायी र नागरिक समाजबीच पीडित–मैत्री अभ्यासको साझा समझदारी विकास गर्नुपर्ने बताउनुभयो । उहाँले पीडितको गोपनीयता, सुरक्षा र आत्मसम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार सञ्जाल मोरङका संयोजक तथा सिविन विराटनगरका प्रमुख बासु अधिकारीले अनुसन्धान पीडित मैत्री नहुने गरेको भन्दै गुनासो गर्नुभयो । कानुन व्यवसायीले बालबालिकालाई पीडित मैत्री व्यवहार नगर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा आफन्त नेपाल विराटनगर शाखा प्रमुख अमृता घिमिरेले पीडित केन्द्रीत अन्तरवार्ताका क्रममा थुप्रै चुनौतिहरु रहेको बताउनुभयो । उहाँले डर र मानसिक अवस्थाका कारण बयान दिन नसक्नु, पुनःपीडा हुने डरले कानुनी प्रक्रिया टार्नु, सामाजिक बदनामी, परिवार र समुदायको दबाब, लामो कानुनी प्रक्रिया र मुद्दा ढिलाइ, जबरजस्ती मिलापत्रको दबाब, बालविवाह, घरेलु हिंसालाई ‘घरेलु विषय’ ठान्ने प्रवृत्ति, पीडित–मैत्री पूर्वाधारको कमी, राजनैतिक हस्तक्षेप मुख्य चुनौतिहरु रहेको बताउनुभयो ।

कार्यक्रममा सहायक जिल्ला न्यायाधिवक्ता रमुना राउतले कानुनी प्रावधानबारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

आफन्त नेपालले मानव बेचबिखन,ओसारपसार नियन्त्रण साथै लैङ्गिक हिंसा अन्त्यका लागि विगत १८ वर्षदेखि कार्य गर्दै आइरहेको छ ।