विराटनगर ४ पुस । नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरीक मन्त्री श्रद्धा श्रेष्ठले विराटनगरको बालसुधार गृह, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र एकसय चार, बालहेल्प लाइनसेवा विराटनगर र पूर्वाअञ्चल बालसेवा आश्रमको निरीक्षण गर्नुभएको छ ।
आज गरिएको निरिक्षणको क्रममा बालसुधार गृहको अवस्थाको बारेमा बालसुधार गृहका व्यवस्थापक मिलन चौहानले बालसुधार गृहको बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराउनु भएको थियो । बालसुधार गृहको क्षमता ५० जनाको भएपनि दुईसय ५४ जना बालबिज्याईँकर्ता रहेकोले गर्दा समस्या रहेको बताउनु भयो । सबैभन्दा बढी एकसय ३९ जना जर्वजस्ती करणी, ३० जना कर्तव्य ज्यान, २८ जना लागूऔषध, ११ जना चोरी तथा नकबजनी, आठजना ज्यान मार्ने उद्योग, सातजना अप्राकृतिक मैथुन, कर्तव्य ज्यान र डाँका ६ जना, सामूहिक जर्वजस्ती करणीमा आठजना , सवारी ज्यानमा पाँच जना, डाँका चारजना लगायतका मुद्दामा बालसुधार गृहमा बालकहरु रहेको बताउनु भयो ।
बालसुधार गृहमा १८ बर्षसम्मका एकसय ४१ जना रहेका छन् भने १८ बर्ष भन्दा माथिका एकसय १३ जना रहेका छन् । क्षमताको अनुपातमा अत्याधिक संख्यामा बालकहरु हुनु, १८ बर्ष माथिका बालकहरुको लागि छुट्टै व्यवस्था नहुनु, बालकहरुको संख्याको तुलनामा न्युनतम भौतिक पूर्वाधार, जनशक्ति, सुरक्षा लगायतका सुविधा नहुनु, लागुऔषध सेवनकर्ताहरुलाई पनि अन्य बालकहरुसँगै राखिनु, बालबालिकाको मुद्दा एकसय २० दिनमा फैसला हुने भनिएपनि हुन नसक्नु लगायतका कारणले समस्या भएको बताउनु भयो । उहाँले बालसुधार गृहको वरिपरी पर्खाल नभएकाले बारम्बार बालकहरु भाग्ने लगायतका समस्या भएको बताउनु भयो ।
विराटनगर बालसुधार गृहको निरिक्षणपछि मन्त्री श्रेष्ठले बालसुधार गृहको व्यवस्थापन, पर्खाल निर्माण, मर्मत सम्भारका लागि आवश्यक पहल गर्ने बताउनु भयो । बालसुधार गृहमा यसभन्दा अगाडि पनि पटक पटक झैझगडा भैरहने र बालकहरु पर्खाल नाघेर भाग्ने गरेका छन् ।