डा. शेखर कोइरालाले भने–पार्टी अध्यक्षलाई स्थानहद तोकेर सरकारले कस्तो चुनाव गर्न खोज्दैछ ?

विराटनगर २ पुस । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले चुनावको वातावरण बनाउन नसकेको बताउनु भएको छ । फागुन २१ मा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएपनि सरकारले शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा डा. कोइरालाले राजनीतिक दलको अध्यक्षलाई उपत्यका नछाड्न भन्दै स्थान हद तोकेर कस्तो निर्वाचन गराउन खोजेको भन्दै प्रश्न गर्नुभयो । एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उहाँले स्थानहद तोकेर निर्वाचनको वातावरण नबन्ने बताउनुभयो ।

डा. कोइरालाले भन्नुभयो,‘ चुनाव गराउन सरकार इच्छुक छ की छैन भन्ने चिन्ता लाग्न थालेको छ ।’ जेनजी आन्दोलका क्रममा लुटिएका हतियार र अपराधिहरुको नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ नेपाली कांग्रेस फागुन २१ मै निर्वाचन होस् भन्ने पक्षमा छ । तर, सरकारले यसलाई गंभीरता रुपमा लिएको देखिदैन ।’

नेपाली कांग्रेसको महाधिवेशन निर्धारित मितिमै हुनेपर्ने पक्षमा आफु रहेपनि थोरै तलमाथि हुन सक्ने उहाँले बताउनुभयो । क्रमसंख्या विनाको क्रियाशिल सदस्य फारमका विषयमा पार्टी भित्र विवाद भएकाले क्रमसंख्या विनाको फारमलाई मान्यता नदिन पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराईसकेको नेता कोइरालाले बताउनुभयो ।