विराटनगर २५ मंसिर । ७७ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर मानव अधिकार सञ्जाल मोरङले दुईजना व्यक्तिलाई सम्मान गरेको छ ।
मानव अधिकारका क्षेत्रमा दुई दशकदेखि योगदान पुर्याउँदै आएका गैसस महासंघ मोरङका सचिव नवराज निरौला र मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष चूडा भट्टराई रेग्मीलाई विशेष समारोह आयोजना गरेर सम्मान गरेको हो ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कोइरालाले अहिले विश्वबाटै मानवता हराउँदै गएको प्रसंग उठाए । मानवीय संवेदना कमजोर हुँदै गएको बताउँदै मेयर कोइरालाले सबै मिलेर मानवतालाई जागृत गराउनु आवश्यक रहेको औंल्याउनुभयो ।
मानव अधिकार सञ्जाल मोरङका अध्यक्ष वासु अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका कोशी प्रदेश प्रमुख वीरबहादुर बुढामगर, जिल्ला समन्वय समिति मोरङकी उपप्रमुख उषा झा, जिल्ला प्रहरी कार्यालय मोरङकी डिएसपी कोपिला चुडाल, महिला मानव अधिकार रक्षक सञ्जालकी केन्द्रीय कोषाध्यक्ष मञ्जिला उपाध्याय, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा, मानव अधिकार संजाल विराटनगरका संस्थापक सोमराज थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।