विराटनगर १७ मंसिर । कोशी प्रदेशका ६५ जना अपाङ्गता भएका व्यक्तिहरुले अन्तरनिहित प्रतिभा प्रस्तुत गरेका छन् ।
कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन, राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान, इटहरीको संयुक्त आयोजनामा अपाङ्गता भएका व्यक्तिहरुको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज विराटनगरमा आयोजित प्रतिभा पहिचान कार्यक्रममा विभिन्न ९ विधामा ६५ जना प्रतियोगीहरुले प्रतिभा प्रस्तुत गरेका थिए ।
सङ्गीत तर्फबाट प्रस्तुत प्रतिभाहरुको वसन्त सापकोटा र बुलु मुकारुङ, हास्य तर्फबाट मनोज गजुरेल, गायन तर्फबाट राजु लामा र प्रितम आचार्य, निर्देशन तर्फबाट मीनबहादुर भाम, विशाल भण्डारी र सोनु जयन्ति, साहित्य तर्फबाट मनु मंजिल र कृष्णविनोद लम्साल, चित्रकला तर्फबाट महेन्द्र राई र अमिर बंजन, नृत्य तर्फबाट निलु थापा र निलम ढुङ्गाना लगायतले मूल्यांकन गर्नु भएको थियो ।
अपाङ्गता भएका व्यक्तिहरूमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन मात्र नभई उनीहरूलाई व्यावसायिक बनाउनका लागि आवश्यक सहजीकरण समेत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको करुणा फाउन्डेसनका कार्यकारी निर्देशक योगेन्द्र गिरीले जानकारी दिनुभयो ।
कोशी प्रदेशको शान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिको पहिचान, कलाको व्यावसायिकताले बढाउनेछ आय र आत्मसम्मान भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा साहित्य, वक्तृत्वकला, अभिनय–क्यारिकेचरमा १७, सङ्गीत तथा गायन २७, नृत्य १०, चित्रकला ६, हस्तकला ४, नवप्रवद्र्धनमा एक जनाले प्रतिभा प्रस्तुत गरेको करुणा फाउन्डेसनका बरिष्ठ व्यवस्थापक कमल कोइरालाले जानकारी दिनुभयो ।
प्रस्तुत प्रतिभाको संवन्धित निर्णायकहरुले नोट दिएको र सोही अनुशार व्यवसायीकरण गर्न सकिनेहरुलाई सहयोग गरिने उहाँले बताउनुभयो ।
सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रतिभाको सम्मान प्रदेश सरकारले गर्ने बताउनुभयो । सरकारले कसैलाई पनि विभेद नगर्ने उहाँले बताउनुभयो । मन्त्री राईले अपाङ्गता भएका व्यक्तिहरुलाई अवसर दिनुपर्ने बताउनुभयो । अपाङ्गता दोष नभएकाले सोच परिवर्तन गर्न आवस्यक रहेको उहाँको भनाई छ ।
आवेदन दिएका कोशी प्रदेशका २१५ जनाबाट अन्तिम छनौट भएका प्रतियोगीहरुको तयारीका लागि मंसिर १२ गते देखि इटहरी र विराटनगरमा विषय विज्ञ प्रशिक्षकबाट प्रशिक्षण–तालिम समेत सञ्चालन गरिएको थियो ।
