जिसस ताप्लेजुङका प्रमुख लामा एमालेमा फर्किए

विराटनगर १६ मंसिर । जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख तथा नेकपा एकिकृत समाजवादी कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमालेमा प्रवेश गर्नु भएको छ ।

आज दिउँसो एमाले पार्टी कार्यालयमा पुगेका उहाँलाई पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्बोलगायतले खादा, माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । लामासँगै अन्य कार्यकर्ता पनि पार्टी प्रवेश गरेको जनाइएको छ ।

नेकपा एसबाट जिल्ला समन्वय समिति प्रमुख भएका लामा एस र माओवादी केन्द्रसमेतले नेपाली कम्युनिष्ट पार्टी बनाएपछि एमालेमा फर्किएका हुन् । ‘मलाई यहाँ आउँदै गर्दा, घर फर्कंदै गर्दा कतिपयले तपाईंको पद के हुन्छ भनेर सोधेका थिए,’ लामाले भने, ‘पद गए जाओस् भनेको छु ।’ उहाँले विद्यार्थी जीवनदेखि राजनीतिमा सक्रिय रहेको बताउनुभयो ।

‘अनेरास्ववियु, तत्कालीन माले हुँदै यसअघि पनि एमालेमा रहेको र समय परिस्थितिअनुसार जेन–जी आन्दोलनपछि राष्ट्रियता, लोकतन्त्रप्रतिको चिन्तन एमालेमा पाएकाले यसैमा फर्किएका हुँ,’ कार्यक्रममा उहाँले भन्नुभयो । उहाँले आफूले एमालेमा कुनै पद नमागेको दाबी गर्नुभयो । लामा एमाले विभाजनपछि नेकपा एसको जिल्ला अध्यक्षसमेत हुनु भएको तियो ।

नेकपा एसका जिल्ला अध्यक्ष दुर्गाहाङ श्रेङचोङबाङ, केन्द्रीय सदस्यहरू खेम वनेम, निता सिवालगायत एकता प्रक्रियामा सहभागी भइसकेका छन् । उनीहरू विराटनगरमा भएको एकतासभामा पनि सहभागी थिए ।