विराटनगर १५ मंसिर । नेकपा एकिकृत समाजवादी उर्लाबारी नगरकमिटीका अध्यक्ष सहित करिव एक सय नेता कार्यकर्ताहरु एमालेमा फर्किएका छन् ।
एकिकृत समाजवादी सहित १५ वटा राजनीतिक दल र समूहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीको कोशी प्रदेश स्तरिय भेलाको पूर्वसन्ध्यामा उनीहरु एमालेमा फर्किएका हुन् ।
उर्लाबारीबाट नेकपा एसका कार्यकर्तालाई सोमबार विराटनगर भेलाका लागि ल्याउने जिम्मेवारी पाएको नगरकमिटीका अध्यक्ष सहितका नेताहरुले पार्टी अध्यक्ष माधवकुमार नेपालले माओवादीसँग पार्टीलाई विलय गराएर गद्धार गरेको बताएका छन् ।
गद्धार नेताहरुलाई भेट्नुभन्दा एमालेमै फर्किनु उचित भएकाले भेलाअघि नै फर्किएर सन्देश दिएको बताएका छन् ।
एमालेमा फर्कनेहरुमा उर्लाबारी नगर अध्यक्ष तथा जिल्ला कमिटी उपसचिव डिबी थापा, उर्लाबारी १ का पूर्व वडाध्यक्ष मचिन्द्र कार्की नेताहरु देवकुमार पाण्डे, सर्सु गुरुङ, कृष्ण आचार्य, किशोरचन्द्र राई, गोपाल भट्टराई, हेमचन्द्र थापा, शिवकाजी कठायत, नरेश बराईली, कमल गौतमलगायत ८९ जना नेता कार्यकर्ता एमालेमा समाहित भएका हुन् ।
एमालेमा फर्किएका नेताहरुलाई केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज जीवन घिमिरे, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा लगायतले स्वागत गरेका थिए ।