विराटनगर ८ मंसिर । कोशी प्रदेशबाट १ लाख ५७ हजारले मतदाता नामावलीका लागि निवेदन दिएका छन् ।
असोज १० देखि कात्तिक मसान्त र पछि थप गरिएको मंसिर ५ गते सम्मको अवधिमा कोशी प्रदेशका जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयबाट र राष्ट्रिय परिचय पत्रका आधारमा अनलाईन मार्फत गरि १ लाख ५७ हजार ६१३ जनाले मतदाता नामावली दर्ताका लागि निवेदन दिएका हुन ।
निर्वाचन कार्यालयहरुमा पुगेर नामावली दर्ताका लागि ५८ हजार ९२५ ले निवेदन दिएका छन् भने अनलाईन मार्फत ९८ हजार ६८८ ले निवेदन दिएका छन् । गत असोज १० गते अघि सम्म कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता थिए ।
मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालय मार्फत र अनलाईन दुवै गरि ताप्लेजुङबाट ३ हजार, पाँचथरबाट ४ हजार ३८९, इलामबाट ६ हजार ६४, संखुवासभाबाट २ हजार ८०८, तेहृथुमबाट ३ हजार ६७७, धनकुटाबाट ३ हजार २७२, भोजपुरबाट २ हजार ९०९, खोटाङबाट ४ हजार १६२, सोलुबाट ५८०, ओखलढुङ्गाबाट ५ हजार ९३२, उदयपुरबाट ८ हजार ७१७, झापाबाट ३५ हजार ३१९, सुनसरीबाट ३२ हजार ३८२ र प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट ४४ हजार ४०२ जनाले निवेदन दिएका छन् ।
निर्वाचन आयोगले आफु बसेको स्थानको निर्वाचन कार्यालयबाट वा कुनै आफ्नो अनुकुल पर्ने निर्वाचन कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।
असोज १० देखि मंसिर ५ गते सम्मको अवधिमा मतदाता नामावली दर्ताका लागि निवेदन दिएकाहरु सवै फागुन २१ गते हुने निर्वाचनका मतदाता नहुने प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तिर्थ अधिकारीले बताउनुभयो ।
१६ वर्ष पुरा भई नागरिकता प्राप्त गरेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गरेपनि फागुन २० गते सम्म १८ वर्ष पुरा भएकाहरु मात्रै फागुन २१ को निर्वाचनको मतदाता हुने उहाँले बताउनुभयो ।
मंसिर ५ गते सम्म नामावली दर्ताका लागि निवेदन लिने काम भएकाले अहिले मतदाताहरुको नामावली अद्यावधिक गर्ने काम भईरहेको सूचना अधिकारी तिर्थ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार निवेदन दिनेहरु दोहोरिएको हुन सक्ने, पायक पर्ने स्थानबाट नामावली दर्ताका लागि निवेदन दिएपनि अन्यत्र जिल्लाको पनि मतदाता हुने, त्रुटी भएकाहरुको सच्याउने र ठाउँ सारी भएकाहरु सवैको अद्यावधिक गरि मंसिर २० गते निर्वाचन आयोगमा अन्तिम नामावली पठाईने छ ।
जिल्ला र प्रदेश निर्वाचन कार्यालयहरुबाट अद्यावधिक भएर गएपछि फागुन २१ गते हुने निर्वाचनको मतदाता नामावली पुस २३ गते आयोगले सार्वजनिक गर्ने तालिका रहेको अधिकारीले बताउनुभयो ।
ठाउँ सारी गर्नेको संख्या बढ्दो
निर्वाचन कार्यालयमा ठाउँसारि गर्ने मतदाताको संख्या पनि अधिक रहेको जिल्ला निर्वाचन कार्यालयहरुले बताएका छन् ।
साविक निर्वाचन कार्यालयमा रहेको नामावली सोही जिल्लाको अन्य निर्वाचन क्षेत्र वा अन्य जिल्ला सार्नेहरु अधिक रहेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले बताउनुभयो । बसाइँसराइँ गरेर झापा आउने र झापाबाट अन्यत्र जानेको संख्या पनि अधिक रहेको उहाँले बताउनुभयो । उहाँका अनुशार अहिले अद्यावधिकको काम भईरहेकाले एक हजार भन्दा बढी ठाउँ सारिको निवेदन आएको छ ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरबाट पनि ठाउँसारिका २ हजार ७२ निवेदन आएको बताईएको छ ।
पहाडी जिल्लाबाट तराईका जिल्लाहरुमा ठाउँसारि गर्नेहरु अधिक रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुखहरुको भनाई छ ।
पहाडी जिल्लाबाट तराई सर्नेहरु बढी भएपनि अन्यत्रबाट पहाडी जिल्लामा आउनेको संख्या भने नगन्य रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्वुका प्रमुख नेत्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश असोज ८ गते जारी गरेपछि असोज १० देखि मतदाता नामावली संकलन शुरु गरिएको थियो ।