निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

विराटनगर २३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचन सफल बनाउन सबैलाई आह्वान गर्नु भएको छ ।

उहाँले संविधान र लोकतन्त्रलाई अझ उन्नत तथा सुदृढ बनाउन आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल बनाउनुपर्ने बताउनुभयो ।

आइतबार सिंहदरबारमा सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले युवा पुस्ताको सुशासन र विकासप्रति प्रकट भएको चाहनालाई ध्यान दिंदै निर्वाचन सफल बनाउनु पर्ने बताउनुभयो ।

लोकतन्त्रको सुदृढीकरण गर्न र त्यसको प्रतिफल जनताले प्राप्त गर्ने वातावरण निर्माणमा सञ्चारमाध्यमहरुको योगदान महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले देशको सकारात्मक परिवर्तन, विकासका पहल, सम्भावना र अवसरहरूका बारेमा नागरिकलाई सूचित गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गर्न दत्तचित्त भएर लाग्न सन्चारमाध्यमलाई आग्रह गर्नुभयो ।

सत्य, तथ्य र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएकाले सत्य–तथ्यमा आधारित सूचना प्रवाह गर्नु सञ्चार माध्यमको कर्तव्य, जिम्मेवारी र दायित्व भएको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेलले प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व भएको धारणा राख्नुभयो ।