विराटनगरका बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाईने

विराटनगर २१ कात्तिक । विराटनगरका बालबालिकाहरुलाई स्वर्णबिन्दु प्राशन खुवाईने भएको छ । मोरङमा चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकामा यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आगामी कात्तिक २५ गते कार्यक्रमको शुभारम्भ गरिने भएको छ । मोरङमा पहिलो पटक यो कार्यक्रम शुरुवात गर्न लागिएको हो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङले सरोकारवालाहरुका लागि आज विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा एक वर्षदेखि ५ वर्ष सम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन खुवाईने स्वास्थ्य केन्द्रका प्रमुख डा.रामप्रबोध चौधरीले जानकारी दिनुभयो । उहाँका अनुशार स्वर्णबिन्दु प्राशन सुनको भष्म, औषधी मिसाएको घिउ र महको मिश्रणबाट तयार गरिन्छ । स्वर्णबिन्दु प्राशन प्रत्येक महिनाको पुष्य नक्षेत्रको दिनमा खुवाईने उहाँले बताउनुभयो । एक पटकमा एक हजार बालबालिकालाई खुवाउने तयारी रहेको उहाँको भनाई छ ।

स्वर्णबिन्दु प्राशनले बालबालिकाको स्मरण शक्ति र बाणीमा सुधार हुने, पाचनशक्ति र शारीरिक वल बृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता मजबुत हुने, बालबालिका उर्जावान, तेजस्वी र सुन्दर हुने डा. चौधरीले बताउनुभयो ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका कविराज निरीक्षक वैजनाथ साहका अनुशार स्वर्णबिन्दु प्राशन, जसलाई सूवर्ण प्राशन वा स्वर्ग प्राशन पनि भनिन्छ । यो एक परम्परागत आयुर्वेदिक औषधि हो । बालबालिकाको वर्ष अनुसार २ देखि ५ थोपा खुवाईन्छ । ब्राह्मी भन्ने एउटा जडिबुटी हो, जसले बालबालिकाको मानसिक विकासमा सकारात्मक प्रभाव पार्ने कविराज निरीक्षक साहले बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, विराटनगर महानगरपालिका वडा नं ८ का वडाध्यक्ष राम पोखरेल, पत्रकार महासंघ मोरङ अध्यक्ष सुशीला पाठक लगायतले आयुर्वेद स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा यसप्रति आम सर्वसाधारणले विश्वास गर्न नसकेको बताउनुभयो ।