एमाले निर्वाचनबाट भाग्दैन, चुनाव हुने वातावरण सरकारले बनाउन सकेन : एमाले नेता अधिकारी

विराटनगर २१ कात्तिक । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले सरकारले चुनाव हुने वातावरण बनाउन नसकेको बताउनुभएको छ ।
एमाले निर्वाचनबाट नभाग्दै भन्दै उहाँले सरकार चुनाव गराउने गरि नलागेको आरोप लगाउनुभयो ।

प्रेस चौतारी मोरङले आज विहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता अधिकारीले भन्नुभयो,‘ हामी चुनावबाट भाग्दैनौं । तर, सरकार चुनाव गराउने दिशामा छैन ।’ प्रतिनिधिसभा पुर्नस्थापना गरेर गैरसांसद पनि प्रधानमन्त्री हुनेगरि संविधान संशोधन गरि निर्वाचनमा जानुपर्ने उहाँले बताउनुभयो । नेता अधिकारीले भन्नुभयो,‘ अहिलेको सरकार गैरसंवैधानिक तवरले निर्माण गरिएको छ । यसलाई खारेज गर्नु पर्छ ।’ वर्तमान सरकारले निश्पक्ष निर्वाचन गराउन नसक्ने उहाँको दावी छ । निर्वाचन भयरहित हुनेमा आशंका देखिएको छ । नेता अधिकारीले भन्नुभयो,‘ अपराध कार्यमा संलग्नहरु फरार छन् । फरार कैदीहरु सम्पर्कमा छैनन । हतियार, गोलीहरु लुटिएको छ । कसरी भयरहित चुनाव हुन सक्छ ?’

प्रजातन्त्रको उपहास हुनेगरिको निर्वाचन गराउन सरकारले चाहेको भए दुर्भाग्यहुने उहाँले बताउनुभयो । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानवीनका लागि बनाईएको आयोगले निश्पक्ष छानवीन गर्न नसक्ने उहाँले बताउनुभयो । पूर्वधारणा व्यक्त गरेका व्यक्तिहरुले निश्पक्ष छानवीन गर्न नसक्ने नेता अधिकारीको भनाई छ ।

जेनजीका नाममा सार्वजनिक र निजी सम्पतीमाथि भएको तोडफोड, लुटपाट र आजगनी गर्ने कार्य आपराधिक भएको उहाँले बताउनुभयो । नेता अधिकारीले भन्नुभयो,‘ कोइराला निवास जलाएर कुन लोकतन्त्रको स्वाद खाईयो ?’ भदौ २३ र २४ गतेको घटनाको निश्पक्ष छानवीनको माग गर्दै उहाँले गौरीवहादुर कार्की नेतृत्वको आयोगले यो काम गर्न नसक्ने बताउनुभयो ।