उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता बढाउन वित्तीय श्रोत व्यवस्थापनबारे छलफल

विराटनगर २० कात्तिक । उद्योग प्रतिष्ठानहरुमा ऊर्जा दक्षता अभिवृद्धिका लागि संरचनागत परिवर्तन गर्दा आवश्यक पर्ने वित्तीय श्रोतको ब्यवस्थापनका सम्वन्धमा उद्योग संगठन मोरङको समन्वय, नेपाल बैकंर्स एशोसिएशन तथा जिआईजेट नेपालको आयोजनामा छलफल कार्यक्रम भएको छ ।

कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रले उर्जा दक्षता अभिवृद्धि गर्न संरचनागत परिवर्तन गर्नुपर्दा वैंक तथा वित्तीय क्षेत्रबाट लिनुपर्ने वित्तीय सहयोग र त्यसका प्रकृयाका वारेमा नेपाल बैकंर्स एशोसिएशन तथा जिआईजेट नेपालका प्रतिनिधिले जानकारी गराएका थिए ।

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षता केवल उर्जा वचत र वातावरणीय दायित्व मात्र नभई उद्योग व्यवसायको दीर्घकालीन स्थायित्वसंग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएको वताउदै निजी क्षेत्र र वित्तीय संस्थाहरूले संयुक्त रुपमा काम गर्नसके ऊर्जा दक्षता क्षेत्रमा उल्लेखनीय प्रगति सम्भावना भएको औल्याउनुभयो ।

वित्तीय विशेषज्ञ अनल भट्टराईले ऊर्जा दक्षता परियोजनामा लगानीका लागि स्पष्ट नीति, जोखिम मूल्यांकन प्रणाली र प्राविधिक मार्गदर्शन आवश्यक हुने वताए । उनले बैंकहरू यस क्षेत्रमा वित्त प्रवाह बढाउन इच्छुक भएको र त्यसका लागि उद्योग प्रतिष्ठानले उर्जा अडिट गरी संरचनागत परिवर्तनका लागि आवश्यक देखिएको स्थानमा वित्तीय संस्थाबाट आवश्यक प्रकृया पुरागरी लगानी व्यवस्थापन गर्नसक्ने गरी तयारी भईरहेको जानकारी दिनुभयो ।

जि.आई.जेड/रिपका प्रोग्राम म्यानेजर डा. संजय गोर्खालीले नेपालमा ऊर्जा दक्षता सुधारका लागि वित्तीय संयन्त्रको अत्यावश्यक वोध गरी जि.आई.जेडले निजी क्षेत्र र बैंकहरूबीचको सहकार्यलाई सुदृढ पार्न नीति तथा प्राविधिक सहयोग गर्दै आएको वताउनुभयो ।

कार्यक्रममा संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोईरालाले ऊर्जा दक्षता सम्बन्धी परियोजनाहरूमा लगानी प्रोत्साहन गर्न, नीतिर क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नु पर्नु धारणा राखे । संगठनका उर्जा समितिको संयोजक सन्तोष भगत र कार्यसमिति सदस्य सृजन प्याकुरेलले ऊर्जा दक्षता प्रवद्र्धनका लागि आगामी दिनमा व्यवहारिक वित्त संयन्त्र तयार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका संचालक, वित्तीय संस्थाका प्रतिनिधि, चार्टर्ड एकाउन्टेन्टहरुको सहभागिता रहेको थियो ।