विराटनगर १९ कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अहिले एमालेलाई चौतर्फी रुपमा घेराबन्दी गरिएको बताउनुभएको छ ।
उहाँले एमालेको शक्ति देखेर घेराबन्दी गरेको बताउँदै घेराबन्दीबाट माथि उठेर अघि बढ्नका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले महानगर कमिटी विराटनगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नेपालले सन्तुलित परराष्ट्रिय नीति लिएर देशको सार्वभौमसत्ता र अखण्डतालाई जोगाउनुपर्ने बताउनुभयो । उहाँले नेकपा एमाले हाम्रा छिमेकी मुलुकका विरुद्ध प्रयोग नहुने चर्चा गर्दै दुवै छिमेकी मुलुकप्रति सन्तुलित नीति लिएर अघि बढ्ने बताउनुभयो ।
नेकपा एमालेको नेतृत्वमा गतवर्ष सरकार बनेपछि भएका आर्थिक प्रगति र सुचाङ्कले एमाले आर्थिक समृद्धितर्फ लागेको दाबी गर्दै मुख्यमन्त्री कार्कीले एमालेको नेतृत्वमा मात्रै मुलुकमा आर्थिक समृद्धि र विकास बताउनुभयो। सम्पूर्ण पार्टी कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गर्दै उहाँले पार्टी पार्टीभित्रको नेतृत्व परिवर्तनको टुङ्गो महाधिवेशन मार्फत टुङ्गो लाग्ने बताउनुभयो । कार्यकर्ताहरु सबै सार्वभौम हुने चर्चा गर्दै उहाँले आफ्ना धारणाहरु महाधिवेशन प्रकट गर्नुपर्ने धारणा राख्नुभयो ।
महानगर स्तरीय सो बैठकमा नेकपा एमालेका नेताहरु रामलाल शाह ऋषिकेश पोखरेल, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत, महानगर अध्यक्ष बलराम गिरी लगायतले बोल्नुभएको थियो ।