विराटनगर १९ कात्तिक । विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा कार्यरत नर्सहरूले न्यूनतम पारिश्रमिक र सेवा–सुविधाको माग गर्दै पुनः आन्दोलन सुरु गरेका छन् ।
आज (बुधबार) बिहान १० बजेदेखि अस्पतालको क्यान्टिन अगाडिको प्राङ्गणमा करिब ५५ जना नर्सहरू भेला भएका थिए । यमुना दाहाल, सृष्टि सरदार, सुप्रभा ढकाल, सन्तोष मन्डल र रुपा नेपाली लगायतका नर्सहरूको नेतृत्वमा यो प्रदर्शन गरिएको हो ।
नर्सहरूको समूहले अस्पतालको न्युरो वार्ड लगायत अन्य वार्डहरू हुँदै मूल गेट अगाडिसम्म पुगी प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौं’, ‘महङ्गो अस्पताल सस्तो नर्स’, ‘नर्स पनि मानव हो, दानव जस्तो व्यवहार नगर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
नर्सहरूले यसअघि पनि आफ्ना मागहरूका सम्बन्धमा आन्दोलन गरे पनि अस्पताल प्रशासनले सुनुवाइ नगरेको भन्दै अहिले ‘पेन डाउन’ कार्यक्रम गरेका हुन् । विरोध कार्यक्रमका कारण अस्पतालको ओपिडी सेवा र अन्य बिरामी सेवामा प्रभाव पर्ने देखिएको छ । आकस्मिक सेवामा भने कुनै अवरोध नभएको अस्पतालले जनाएको छ ।