कोशी प्रदेशसभा सचिव पराजुलीको राजीनामा स्वीकृत

विराटनगर १४ कात्तिक । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीको राजीनामा स्वीकृत भएको छ । प्रदेशसभाको सभामुख अम्वरबहादुर विष्टले राजीनामा स्वीकृतका लागि कात्तिक ९ गते प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गर्नु भएको थियो ।

प्रदेशप्रमुख खापुङले कात्तिक १६ गतेदेखि लागु हुनेगरि राजीनामा स्वीकृत गर्नु भएको बताईएको छ । सर्वाेच्च अदालतले गत प्रदेशसभा सचिव पराजुलीलाई गत माघ ३० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो ।  पराजुली पदमुक्त भएको झन्डै ९ महिनापछि राजीनामा स्वीकृत भएको हो ।

पशुपतिको जग्गामा बालुवाखानी सञ्चालन दिएको मुद्दामा पराजुली दोषी ठहर भएका हुन् । बालुवाखानी ठेक्का दिँदा पराजुली काठमाडौं जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी थिए ।

२०७६ वैशाख १२ मा प्रदेश सभाको सचिव नियुक्त भएका थिए । दोश्रो कार्यकालका लागि पराजुली २०८१ वैशाख ९ गते देखि लागू हुने गरी दोस्रो कार्यकालका लागि प्रदेश सभाको सचिवमा नियुक्त भएका थिए ।

अदालतको फैसलासँगै उनी स्वतः पदमुक्त भएका थिए । पराजुली पदमुक्त भएपछि कार्यवाहक प्रदेशसभा सचिवको जिम्मेवारी गौतमराज अमात्यले सम्हाल्दै आउनु भएको थियो ।

प्रदेशसभा सचिव पराजुलीको राजीनामा स्वीकृत पछि नयाँ सचिव नियुक्तीको बाटो खुलेको छ ।