विराटनगर १३ कात्तिक । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औं वार्षिक प्रतिवेदन आज वुझाइएको छ । प्रदेश प्रमुख खापुङ्गलाई आयोगको इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन वुझाउनु भएको छ ।
प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन वुझदै आम नेपालीको चाहना मुलुकमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, विकास निर्माणले गतिलिई समृद्धि कायम र स्वदेशमा रोजगारी उपलव्ध हुनुपर्ने रहेको बताउनुभयो । उहाँले आयोगलाई बलियो बनाइ अनुसन्धानको काम कारवाही अझ सक्षम, प्रवल र प्रभावकारी बनाउन जनताको सहयोग र राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिनु भयो ।
प्रदेश प्रमुख खापुङ्गले आयोगलाई भ्रष्टाचार नियन्त्रण गर्ने काममा संवैधानिक व्यवस्थाले मार्गनिर्देशन गरेको विचार राख्नुभयो ।
सो अवसरमा आयोगका इटहरी कार्यालयका प्रमुख खगेन्द्रप्रसाद रिजालले आयोगका कार्यालयमा सो आर्थिक वर्षमा दर्ता भएका एवं जिम्मेवारी सरेका गरी दुई हजार ३३६ उजुरी रहेकोमा एक हजार ९३५ फछर्यौट भएको जानकारी दिनुभयो । उहाँले प्रदेशगत रुपमा कोशी प्रदेश अन्तर्गत सङ्घीय कार्यालयका ९०१, प्रदेश सरकारका ४८९ र स्थानीय तहका एक हजार ९०४ गरी कूल तीन हजार २९४ वटा उजरीहरु रहेका छन् ।
प्रदेशमा वन तथा वातावरण क्षेत्रका उजुरी अन्यको तुलनामा धेरै २४ दशमलव ४९ प्रतिशत रहेको बताउनु भयो ।