विराटनगर १० कात्तिक । सूर्य, छठी माता र नदीको पूजाआराधना गरी मनाइने छठको रौनकले छोएको छ ।
आज दिनभर निर्जल व्रत गरेका बर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल षष्ठी अर्थात छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिइएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो। ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित ५ पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।
आज रातभर जाग्राम बसेर भोलि विहान उदाउँदो सुर्यलाई अघ्र्य दिएपछि छठ पर्व समापन हुन्छ ।
