विराटनगर ९ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशका हिमाली र पहाडी जिल्लाका सम्पूर्ण माध्यमिक विद्यालयहरूको पूर्वाधार र विद्यालयमा आइसिटी निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
आज सहिद भूमि गाउँपालिका धनकुटामा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षमा सक्ने गरी पूर्वाधारको कार्यक्रम अघि बढाइने घोषणा गर्नुभएको हो ।
खेतान फाउन्डेसनले सहिद भूमि गाउँपालिका ६ मा रहेको ठाकुरदेवी माध्यमिक विद्यालयमा निर्माण गरिदिएको विद्यालय भवनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार शिक्षा क्षेत्रको सुधारका लागि अगाडि बढेको बताउनुभयो ।
९२ लाख रुपैयाँको लागतमा निर्माण भएको सो भवन सीपी फाउन्डेसनले निर्माण गरिदिएको हो । विद्यालयको आठ कोठे भवन निर्माण भएपछि सो पालिकाका सबै विद्यालय सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधार युक्त विद्यालय बनाउने सिपी फाउन्डेसनले जानकारी दिएको छ ।
मुख्यमन्त्री कार्कीले आफूले आफ्नो निर्वाचन क्षेत्रमा यो निर्माणको काम नलगेर शहीदहरूको सम्मान र त्यस क्षेत्रको विकासका लागि विद्यालय निर्माणको कार्यक्रम सहिद भूमि पालिकामा गर्नका लागि सीपी फाउन्डेसनलाई आग्रह गरे बमोजिम यहाँ निर्माण भएको बताउनुभयो ।
सिपी फाउन्डेसनले विभिन्न दातृ संस्थाको सहयोगमा कोशी प्रदेशको हिमाली तीनटा जिल्ला र पहाडी आठवटा जिल्लाको करिब ५०० वटा विद्यालयको पूर्वाधार र आइसिटी निर्माण गरिदिने समझदारी यसै आर्थिक वर्षभित्रै हुने उहाँले जानकारी दिनुभयो। यो विद्यालय निर्माणका लागि कोशी प्रदेश सरकार र स्थानीय पालिकाको साझेदारी हुनेछ ।
आवश्यक कानुनी प्रक्रिया मिलाइसकेपछि फाउन्डेसनले कोशी प्रदेश सरकारसँग यो सम्झौता गर्ने र सँगसँगै कार्यक्रमलाई अगाडि बढाउने छ । यी विद्यालय बनाउनका लागि करिब १५ अरब रुपैयाँ लगानी गर्ने तयारी गरिएको छ। खेतान फाउन्डेसनका संस्थापक सीपी खेतानले यसबाट कोशी प्रदेशमा शैक्षिक सुधारमा ठूलो उपलब्धि हासिल हुने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका विद्यालयहरू निर्माणको यो ठूलो रकम १० वर्षभित्र सक्ने योजना रहेको बताउनुभयो । उहाँले खेतान फाउन्डेसनले त्यो भन्दा अघि नै यस्ता कार्यक्रमलाई सक्नेगरी तयारी गर्न आग्रह गरे पनि प्रदेश र पालिकाको स्रोत साधनलाई समेत प्रयोग गरेर अघि बढ्नुपर्ने भएकाले यसको समय १० वर्ष राख्न लागिएको बताउनुभयो ।
पालिका र प्रदेश सरकारको समेत सहकार्यमा विद्यालय निर्माण हुनेछ । यो कार्यक्रम सुरुवात सँगै कोशी प्रदेशको शैक्षिक क्षेत्रमा ठूलो प्रगति हासिल हुने उहाँले दाबी गर्नुभयो। मुख्यमन्त्री कार्कीकै पहलमा आज सहिद भूमि पालिका र सीपी फाउन्डेसन बीच पालिकालाई नमुना पालिका बनाउने गरी समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।
सो समझदारीमा उल्लेख भए अनुसार सहिद भूमि पालिकामा करिब २ देखि ३ अरब रुपैयाँ लगानी हुनेछ। सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी र लघु उद्यमशीलता साथै सडक कालोपत्रे बनाउन यो लगानी गरिनेछ । यस कार्यक्रमका लागि ह्युमन प्राक्टिस फोरम ले पनि मुख्य सहयोगी भूमिका निर्वाह गरेको छ ।
आज खेतान फाउन्डेसन र ह्युमन प्राक्टिस फोरम बीच सहिद भूमि पालिकामा पहिलो चरणमा कोशी प्रदेशका विद्यालय पूर्वाधार निर्माणका लागि ३ अरबको लगानी गर्ने गरी सहमति पत्रमा हस्ताक्षर पनि भएको छ । हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री कार्की र खेतान फाउन्डेसनका सीपी खेतान लगायत विदेशी संस्थाबाट आउनुभएको विभिन्न प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।
सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि पारेको सहिदभूमिपालिका एउटा नमुना पालिकाको रुपमा स्थापित हुने बताउनुभयो । २०३६ सालको खोकु छिन्ताङ हत्याकाण्डपछि पछाडि पारिएको यो पालिका विकास र समृद्धिका लागि यो सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय बासीहरूको विश्वास छ ।