विराटनगर ८ असोज । मोरङ लेटाङ २ स्कुल चोककी १३ बर्षीया बालिका अंशु गौतमको शव बीभत्स अवस्थामा फेला छ । २ सातादेखि बेपत्ता भएकी बालिकाको शव बीभत्स अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गौतम शुक्रबार जंगलभित्र मृत भेटिएकी हुन् ।
लेटाङ–२ स्थित बेलबारी–चिसाङ साझेदारी वनभित्र बीभत्स अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताउनुभयो । वन क्षेत्र लेटाङ र बेलबारीको सिमानामा पर्छ । बीभत्स अवस्थामा शव भेटिएको दृश्य अत्यन्तै भयावह रहेको स्थानीय बताउँछन् । घटनापछि स्थानीय त्रसित एवं स्तब्ध बनेका छन् ।
एसपी कटवालले अंशुको शव टाउको र शरीर छुट्टिएको तथा सडेर दुर्गन्धित भएको अवस्थामा फेला परेको जानकारी दिए । कुहिएको शवका कारण वरपर दुर्गन्ध फैलिएको उनले बताए । घाँस काट्न गएका स्थानीयले शव देखेपछि दिउँसो करिब १ः३० बजेतिर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय लेटाङको टोली घटनास्थल पुगेको थियो ।
घटनाको अनुसन्धानका लागि एसपी कटवाल आफैं घटनास्थल पुगेका छन् । अंशु असोज २१ गते दिउँसो ४ः३० बजेतिर घरबाटै सम्पर्कविहीन बनेकी थिइन् । अभिभावक कसैलाई पनि केही नभनिकन बेपत्ता भएकी उनको शव २ सातापछि जंगलमा बीभत्स अवस्थामा भेटिएको हो ।
घटनास्थल वरिपरि अंशुले लगाएको ट्राउजर र हाफपाइन्ट फुकालिएको अवस्थामा भेटिएको एसपी कटवालले बताए । कपडा शवको नजिकै फेला परेकाले बलात्कारपछि उनको हत्या गरिएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।