मोरङमा १० दिनमा १५ सय मतदाता थपिए

विराटनगर २८ असोज । मोरङमा १ हजार ५ सय मतदाता थपिएका छन् ।

असोज १० देखि २८ गते सम्म कार्यालय सञ्चालन भएको १० दिनको अवधिमा १ हजार ५३० मतदाता थपिएका छन् ।

प्रदेश निर्वाचन कार्यालयका अनुशार असोज १० गते २५ जना, १२ गते २१४ जना, १९ गते ८ जना, २० गते ३६ जना, २१ गते २१४ जना, २२ गते ११७ जना, २३ गते २१९ जना, २४ गते १८६ जना, २६ गते ३२१ र २७ गते २९० जनाले नामावली दर्ता गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तिर्थराज अधिकारीले जानकारी दिनुभयो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका छन् । मतदाता नामावलीमा नामदर्ता गराउन जेनजी पुस्तामा उत्साह देखिएको छ ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तोकिएको छ ।

निर्वाचन आयोगले प्रारम्भिक निर्वाचनतालिका समेत सार्वजनिक गरिसकेको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैली प्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्नकै लागि नामदर्ता गराउन आएको बताएका छन ।

यूवाले खोजेको योग्य र भ्रष्टाचार नगर्ने उम्मेदवारलाई मतदान गर्ने गरि मतदाता परिचयपत्र बनाउन आएको विराटनगर १ का आयुष आचार्यले बताए । उनले भने,‘ सक्षम उम्मेदवार जो आएपनि मतदान गरिन्छ । नभए गरिदैन ।’

यूवाले असल नेतृत्व चाहेकाले मतदाता नामावलीमा नाम दर्ता गराउन आएका हरुको भनाई छ । यूवाको मतले चुनिएको व्यक्तिले गर्व गर्न लायक काम गर्न सकोस् त्यही अपेक्षा रहेको विराटनगरकी जोतित्सना सापकोटाको भनाई छ । उनले भनिन्,‘ आफुले छानेको उम्मेदवारले वेरोजगारीको अन्त्य गर्न सकोस । यूवाको भावना बुझेर काम गरोस् ।’

मतदाता नामावलीमा नामदर्ता गराउन आउनेहरूमा अधिकांश युवाहरू छन ।

असोज १० गतेदेखि दैनिक विहान ८ वजेदेखि साँझ ५ सम्म नामदर्ता गराउन आउनेको भीड लाग्ने गरेको छ । जसमा अधिकांश २५ वर्षभन्दा कम उमेर समूहका रहेको प्रदेश निर्वाचन कार्यालय विराटनगरका निर्वाचन अधिकारी युवराज गुरागाँइले बताए ।

मतदाता नामावलीमा नामदर्ता तथा अद्यावधि अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएकोले अनलनाईनबाट गर्ने सकिने सवै काम पुरा गरेर आउने मतदाता आउने गरेको उनले बताए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरि सरकारले अध्यादेश मार्फत कात्तिक मसान्त सम्म मतदाता नामावली दर्ताका लागि समय थप गरेको छ ।