आन्तरिक मामिला मन्त्रालयको विपद् सामग्री स्टोरमा आगजनी गर्दा सवै जलेर नष्ट

विराटनगर २६ असोज । जेनजी आन्दोलनका क्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आजगनी गर्दा विपद्का सवै सामग्रीहरु जलेर नष्ट भएको छ ।

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रर्दशनकारीहरुले तोडफोड तथा मन्त्रालय परिसरमा रहेको विपद्का सामग्री राखिएको स्टोरमा आगजनी गर्दा लाखौं मूल्य बराबरको सामान जलेर नष्ट भएको मन्त्रालयका विपद् व्यवस्थापन शाखाका प्रमुख सदानन्द भट्टराईले जानकारी दिनुभयो । स्टोरमा आगलागी हुँदा विपद्का सम्पूर्ण सामग्री नष्ट भएको उहाँले बताउनुभयो ।

आगजनीबाट ह्याण्ड स ५ थान, हतौडा १० थान, स्टेचर ४ थान, फायर स्टिनग्रसर १७ थान, चेन स २ थान, हेल्मेट ३० थान, फ्लोरेन्स ज्याकेट १ सय थान, क्लाइम्बिङ ग्लोब्स १० थान, क्याराविनर ३० थान, क्लाइम्बिङ रोप २ हजार मिटर, फायर फाइटिङ सुइट ३ थान, मको स्क्युबाप्रो तित्तानियम नाइफ १ थान, रेस्क्यु लाइफ ज्याकेट ६० थान, स्प्रे पम्प १ थान, हाईड्रोलिक ट्रलि १ थान, फायर ब्ल्याङकेट १० थान, फायर स्वाटर ७० थान जलेर नष्ट भएको मन्त्रालयले जनाएको छ ।

विभिन्न दातृ निकायहरुबाट प्रदेश सरकारलाई प्राप्त बहुमुल्य विपद्का सामग्रीहरु जलेर नष्ट भएको विपद् व्यवस्थापन शाखा प्रमुख भट्टराईले बताउनुभयो । विपद्का सामगीहरु जलेर नष्ट हुँदा कुनै पनि विपद् आईपरे तत्काल समाधान गर्न समस्या हुने उहाँले बताउनुभयो ।