


विराटनगर १९ असोज । शनिबार रातिदेखिको अविरल वर्षासँगै इलाममा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।
इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आइतबार अपराह्न १ बजेसम्म ३७ जनाको मृत्यु भएको सूचना प्राप्त जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको सूर्याेदय नगरपालिका १ मानेभञ्ज्याङमा ५ जना, इलाम नगरपालिका ६ घोसमा ६ जना, माङ्सेवुङ गाउँपालिका १ मा ३ जना, देउमाई नगरपालिका ५ मा ८ माई जोगमाई गाउँपालिकामा ८ जना,सन्दकपुर गाउँपालिकामा ६ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको ज्यान गएको हो ।
ज्यान गुमाएकामध्ये ११ जनाको पोस्टमार्टम गरिएको छ । पहिरोमा परी १७ जना घाइते रहेको र जसमध्ये ३ जनालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । पहिरोमा परी ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ ।

