विराटनगर १६ साउन । महेन्द्र मोरङ क्याम्पस विराटनगरको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्मानित भएका हुन् ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला, क्याम्पस प्रमुख डा बाबुराम तिमल्सिना, त्रिवि प्राध्यापक संघ क्याम्पस एकाईका सभापति डा प्रमोद खेरवार उत्कृष्ट प्राध्यापक र कर्मचारीलाई नगद, सम्मानपत्रसहित दोसल्ला र माला लगाएर सम्मान गरेका थिए । उत्कृष्ट प्राध्यापकको रुपमा छनोट भएका महेन्द्र नारायण कर्ण घरायसी कारणले अनुपस्थित भएकाले उनको सम्मान पछि हस्तान्तरण गरिने जनाइएको छ ।
सम्मान कार्यक्रममा पूविका उपकुलपति प्राडा यादवराज कोइरालाले महेन्द्र मोरङ क्याम्पसले शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि धेरै सम्भावना बोकेको संस्था भएकोले अब एकजुट भएर अगाडि बढ्न सुझाव दिए ।
सो अवसरमा पुरस्कृत प्राध्यापक डा देवेन्द्र अधिकारी, सहायकप्रमुखद्वय डा विष्णुदेव दास र डिल्ली पोखरेल, प्राडा राजनारायण यादव, त्रिवि कर्मचारी संघका एकाई अध्यक्ष अनिल यादव, राधा अधिकारी लगायतले मन्तव्य राखेका थिए ।